काठमाडौं, (ससं) । के तपाई पिरो खोर्सानी बढि खानुहुन्छ ? कि पिरो तरकारी भएको भान्छामा नै छिर्नुहुन्न । यदि पहिलो बानी भए त ठिकै छ । दोस्रो बानी अर्थात् पिरो देखेर पनि डराउने बानी छ भने हलुका पिरो खाएको राम्रो । किनकी हरियो खुर्सानीबाट कैयौँ पोशक तत्वहरु पाइन्छ । खुर्सानीले खानाको स्वाद मात्र बढाउँदैन, शरीरको वजन घटाउनेदेखि मुटुसम्बन्धी रोग र पिनासको लागिसम्म यो लाभदायक छ ।
यसमा भिटामिन ए, बी, सी, आइरन, कपर, पोटासियम, प्रोटिन र कार्बोहाइड्रेड आदि पोशकतत्व पाइने र तिनले शरीरमा निकै स्फूर्ति बढाउँछन् । यद्यपी अत्याधिक पिरो त्यसमा पनि मसलेदार खानेकुराले छाती र पेटमा समस्या गर्छ । यसबारे भने सचेत हुनुपर्छ । कतिपयले हरियो खुर्सानीलाई स्वास्थ्यसँगै सौन्दर्यका लागि पनि प्रयोग गरिरहेका हुन्छन् । दैनिक हरियो खुर्सानी खाएमा रोगप्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ । अनुहारमा आउने डन्डिफोरबाट समेत राहत मिल्छ । कस्ता छन् यसका फाइदा तल हेर्नुहोस्
डन्डिफोर हटाउन : हरियो खुर्सानी छालाका लागि फाइदाजनक मानिन्छ । अनुहारमा दाग धब्बा वा फोहोर जस्तो देखिन्छ भने यसलाई चिटिक्क पार्न पनि तपाईंले हरियो खुर्सानी खानाको साथमा मिलाएर खान सक्नुहुन्छ । यसबाहेक डन्डिफोरले अत्याधिक सताएको छ र नियमित ठिक्क मात्रामा पिरो खानुहुन्छ भने तपाईलाई ठिक गराउन धेरै सहयोग गर्छ । खुर्सानीमा हुने भिटामिन ई ले छालाका लागि आवश्यक तेल उत्पादन गर्न सहयोग पुर्याउँछ । खानासँग मात्रा मिलाएर खाँदा छालामा समेत चमक ल्याउँछ ।
प्रतिरक्षा प्रणाली मजबुत : हरियो खुर्सानीमा पाइने पोटासियम,फ्लोभोनोइड्स,भिटामिन सीका कारण शरिरमा प्रतिरक्षा प्रणाली मजबुत बन्छ । तर,यसका लागि सीमित मात्रामा नियमित रुपमा खुर्सानी खानुपर्छ ।
रक्तसञ्चार बढाउँछ : प्रत्येक व्यक्तिको रक्तसञ्चार फरक फरक गतिमा हुन्छ । रगतले सम्पुर्ण शरिरमा पोषक तत्व, अक्सिजन, हर्मोन, गर्मी, इलेक्ट्रोलाइट्स आदि पुर्याउने गर्छ । हरियो खुर्सानी खाँदा रक्तसञ्चारलाई तीव्र बनाउन मद्धत गर्छ । आईरनको कमी पनि पूर्ति गर्छ । छालासँग सम्बन्धित संक्रमण रोक्न मद्धत गर्छ ।
क्यान्सरको खतरा कम : सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसका लागि हरियो खुर्सानी एकदमै उपयोगी हुन्छ । आवश्यक मात्रामा खाँदा फोक्सोमा क्यान्सर हुने सम्भावनाकम रहन्छ । यसका साथै प्रोटेस्टको समस्यालाई समेत कम गर्छ ।