काठमाडौं, (ससं) । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अहिले पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्छन् भन्ने विश्वास गरेको बताएका छन् । शनिबार प्रेस युनियन दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य खाँणले प्रधानमन्त्रीले मार्गप्रशस्त गरेपछि कोर्ष करेक्सन भएर जाने र नगरे प्रधानमन्त्री थप नांगिएर जाने चेतावनी दिए।
आफैंले भंग गरेको संसद सर्वोच्चले स्थापना गरिदिएपछि प्रधानमन्त्री जवाफदेही बन्नु पर्ने बताए । नेता खाँणले भने, ‘आफैंले भंग गरेको संसदमा कसरी अध्यादेश ल्याउने, कसरी नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, कसरी बजेट ल्याउने। अहिले पनि प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुहोला भन्ने विश्वास छ।’
सरकारको नेतृत्व लिनेबारे नेपाली कांग्रेसले उचित समयमा उचित निर्णय गर्ने बताउँदै नेता खाँणले प्रधानमन्त्री समेत रहेका केपी ओलीले नेकपा एमालेका माधवकुमार नेपाल लगायतका नेताहरूलाई पदबाट हटाएको हुँदा अझै राजनीतिक परिदृष्य क्लियर भइनसकेको हुँदा कांग्रेस थप प्रतिक्षारत रहेको बताए।
‘जो रक्षक हो, त्यही नै भक्षक हो,’ उनले भने, ‘जनताको जीवन रक्षा गर्ने प्रधानमन्त्री संविधानको रक्षा गर्नुपर्ने प्रधानमन्त्री, जो संविधानको जगमा उभिएर प्रधानमन्त्री भएको छ , उही संविधानको भक्षक छ।’
त्यसैले पहिला कांग्रेसले संविधानको रक्षा र नागरिकको जीवन रक्षाको लागि भूमिका खेल्ने उनको भनाइ थियो। नेतृत्व लिने बारेमा कांग्रेसले एक मतले निर्णय गरिसकेको हुँदा पार्टीले नेतृत्व लिनुपर्छ भन्ने बारेमा कुनै समस्या नरहेको भए पनि उचित समयमा मात्रै कांग्रेसले उचित निर्णय लिने उनको भनाइ छ । ‘अहिले तत्कालै सरकार परिवर्तनका लागि हामी धेरै उत्सुक छैनौं,’ खाँणले भने, ‘तर, अब अवश्य पनि सत्ताका बारेमा नयाँ समीकरण बन्नेछ, त्यो नभई राज्यले निकास पाउन सक्दैन।’
नेता खाँणले सरकारको नेतृत्वको लागि अन्य दलहरूसँग पनि छलफल भइरहेको भए पनि अझै कांग्रेसले अग्रसरता लिई नसकेको तथा समय परिपक्व भइसकेपछि कांग्रेसले उचित निर्णय लिने बताए।
सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीमा कुनै संवेदनशीलता नरहेको खाँणले आरोप लगाए ।