Wednesday, January 15Nepal News Portal
Shadow

थाहाँ पाउनुहोस् गर्मी याममा कस्ता खानेकुरा खाने?


काठमाडौं, (ससं) । खाना हाम्रो आधारभूत आवश्यकता हो। शरीरका लागि चाहिने पर्याप्त पौष्टिक तत्व पूर्ति गर्न ५ खाद्य समूह सन्तुलित मात्रामा खानामा समावेश गर्नुपर्छ।
गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाइ शितलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ।

गर्मीयाममा पाइने खरबुजा, तरबुजा, मेवा, प्याज, पुदिना, कागती, काँक्रो, काँचो आँप, मकै र अन्य हरिया सागपात तथा तरकारीहरूमा एन्टिअक्सिडेन्ट, एन्टिहिटस्ट्रोक तथा शितलता प्रदान गर्ने तत्व रहेको हुन्छ। त्यस्तै नरिवलको पानी, ताजा फलफुलको जुस, दही र मोहीले शरीरमा तापक्रम र पानीको मात्रा सन्तुलन राख्नुका साथै शरीरलाई चाहिने शक्तिको प्रबन्ध पनि गर्छ। त्यसकारण गर्मी मौसममा यी खानेकुरा खानामा समावेश गर्नु उपयुक्त हुन्छ।

जाडो महिनाको तुलनामा गर्मीमा मानिसलाई खानामा रुची कम हुन्छ। त्यसले गर्दा धेरैलाइ कमजोर महसुस पनि हुनसक्छ। गर्मीका बेला खानामा रुची कम हुनाको कारण शरीरमा शक्तिको आवश्यकता नै कम हुनु हो। जाडो महिनामा शरीरको तापक्रमभन्दा बाहिरी तापक्रम चिसो भएको कारणले शरीरको बाहिरी भाग र मांशपेशी पनि चिसो हुन्छ। शरीरको बाहिरी भाग र मांशपेशी तातो राख्न तथा मांसपेशीको कार्य सुचारु राख्न शक्तिको खर्च बढी हुन्छ। त्यसकारण जाडोमा खानामा रुची बढी हुन्छ।

गर्मीमा बाहिरी तापक्रम नै बढी हुन्छ र शरीरको बाहिरी भाग र मांसपेशी तातो बनाउन शक्तिको खर्च हुँदैन। त्यसकारण शक्तिको आवश्यकता नै कम हुन्छ र कम रुची हुन्छ। तर खाना खान मन लागेन भन्दैमा केही नखानुभन्दा शरीरलाई शितलता दिने र शक्ति दिने खाना जस्तै ताजा फलफूल, जुस, दही वा महीको लस्सी, नरिवल पानी, कागतीको जुस आदि खानाका साथै बीच–बीचमा खानुपर्दछ।

गर्मी महिनामा पिरो वा अमिलो खानेकुरा सबैलाई मन पर्छ। पिरो वा अमिलो खानेकुरा जिब्रोका लागि स्वादिष्ट वा ताजा महसुस गर्न खाने गरिन्छ। यस्ता खानेकुराले गर्मीको समयमा बाहिरी तापक्रमअनुसार शरीरको भित्री तापक्रम पनि बढाइ सन्तुलन गराउने काम गर्दछ।

स्वस्थ मानिसले चिसो मौसममा दैनिक १.५ लिटरदेखि २ लिटर पानी पिउनुपर्दछ भने गर्मी मौसममा २ लिटरदेखि ३ लिटर पानी पिउनुपर्छ। यदि बढी तापक्रम हुने र पसिना बढी आउने ठाँउमा ५ लिटरसम्म पानी पिउनु पर्दछ। पानीको मात्रा कम गर्नुपर्ने बिरामीका लागि भने डाक्टर वा पोषणविद्को सल्लाहअनुुसार पिउनुपर्छ।
गर्मी मौसममा शितलता प्रदान गर्न चिसो पेय पदार्थ, आइसक्रिम खाने गर्दछौं। तर यस्ता खानेकुराहरूले शरीरलाई क्षणिक शितलता प्रदान गर्दछन्। यस्तो खानेकुराको अधिक प्रयोगले शरीरको भित्री तापक्रम र बाहिरी तापक्रममा असन्तुलन गराइ शरीरलाई बढी गर्मी महसुस गराउँछ। साथै शरीरमा पानीको मात्रा पनि कमी गराई सुख्खा गराउँछ। यसले गर्दा मानिसमा विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छन्। त्यसकारण खाना खाँदा क्षणिक आनन्द दिनेभन्दा कसरी स्वस्थ रहने भन्ने तिर लाग्नु पर्दछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्