एजेन्सी । अर्जेन्टिनाकी एक महिला प्रहरीले अस्पतालमा बेवास्ता गरी छाडिएको शिशुलाई स्तनपान गराइरहेको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । त्यो तस्विर सार्वजनिक भए पछि ती महिला प्रहरीको बढुवा गरिएको छ । स्तनपान गराइरहँदा सिलिसटे अयाला प्रहरी पोशाकमा ड्युटीमा खटिरहेकी थिइन् ।
अर्जेन्टिनाको प्रहरीले बुइनोस एरिस क्षेत्रमा ला पाल्टाबाट छ जना शिशुहरुको उद्धार गरेका थिए। उक्त प्रहरी समूहमा रहेकी सिलिसटे अयाला पनि रहेकी थिइन्।उद्दार गरिएका मध्य सबै भन्दा सानो सात महिनाको एक बालक धेरै रोए पछि अस्पतालको अनुमति लिएर उनले सो बच्चालाई स्तनपान गराएकी थिइन् ।
सिलिसटेको १६ महिने छोरी रहेको छ। सिलिसटेले एक स्थानिय संचारमाध्यमलाई भनिन् ‘मैले कुनै संकोच बिना सो बच्चालाई स्तनपान गराए र उ शान्त भयो।’ सिलिसटेको तस्विर उनकै सहकर्मी मार्कोस हेरेडियाले फेसबुकमा पोस्ट गरेका थिए । तस्विर पोस्ट भएलगत्तै भाइरल हुन पुग्यो र सिलिसटेले देखाएको ममता समाचारका हेडलाइन बन्न पुगेको थियो । बुइनोस एरिस प्रान्तका सुरक्षा मन्त्री क्रिस्टियान रिटोन्डोले सिलिसटेलाई भेटेर उनी सर्जेन्ट पदमा बढुवा भएको जानकारी दिएका थिए ।