काठमाडौं, (ससं) । केही दिनयता लगातार ओरालो लागेको शेयर बजार मंगलबार (आज) भने झिनो अंक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक २.५६ अंक वृद्धि भएर २३९१.७४ विन्दुमा रोकिएको हो ।
आज नेप्से परिसूचकमा सुधार भएको भएपनि कारोबार रकममा भने कमी आएको छ । गत कारोबार दिन ४ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज घटेर ३ अर्ब ३७ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ । २१६ कम्पनीको ९० लाख १२ हजार ८५३ कित्ता शेयर खरिद विक्री भएको छ ।
आज सर्वाधिक शेयर मूल्य वृद्धि हुने उच्च स्थानमा चन्द्रागिरि हिल्स लिमिटेड रहेको छ । यो कम्पनीको प्रतिशेयर मूल्य १ हजार ६९ रुपैयाँ कायम भएको छ । आज सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १९ करोड ३८ लाख रुपैयाँको शेयर खरिद विक्री भएको छ ।
आज कारोबारमा आएका १३ समूहमध्ये ७ समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक ३.३६ प्रतिशतले वृद्धि भएको छ ।