काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) एमालेका नेता माधवकुमार नेपालले ओलीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । आज बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् ।
आफूहरुको भेला रोक्नका लागि साइबर स्यालहरुले नेता योगेश भट्टराईको फेक हस्ताक्षार प्रयोग गरेको उनले बताए । उनले भने, आज बिहान फेक सूचना जारी गरेका थिए । योगेश भट्टराईको हस्ताक्षार चोरेर फेक पत्र जारी गरेका थिए । साइबर स्यालहरु त अझै पनि जिँउदै रहेछन् । नेकपा हुँदा थियो भनेको त अझै पनि रहेका छन् ।
उनले ओलीका साइबार स्यालबाट होसियर हुन आग्रह गर्दै गलत सूचनाहरु अझ आउने र कुनै पनि किसिमको अलमल नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले कुनै पनि भ्रमको समाचारमा नलाग्न पनि समेत आग्रह गरेका छन् ।
नेता नेपालले आफूहरुको लडाईं पदको नभएर सिद्धान्त,नीति,विधि र पार्टी निर्माणको लडाइँ भएको बताएका छन् । पार्टीभित्रको वर्तमान स्थिती उत्पन्न हुनुको कारण केपी शर्मा ओली नै प्रमुख जिम्मेवार रहेको उनले आरोप समेत लगाएका छन् ।