काठमाडौं, (ससं) । साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार बढेर बन्द भएको छ । नेप्से परिसूचक ४०.४० अंक बढेर २४३२.१५ विन्दुमा पुगेको भएपनि कारोबार रकम भने गत दिनकै हाराहारीमा रहेको छ ।
मंगलबार (हिजो) ३ अर्ब ३७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज पनि ३ अर्ब ३७ करोड ४५ लाख रुपैयाँको शेयर खरिद विक्री भएको हो । २१२ कम्पनीको ८६ लाख २६ हजार ६६७ कित्ता शेयर खरिद विक्री भएको छ । आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । सर्वाधिक परिसूचक वृद्धि होटल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक ४.२६ प्रतिशतले वृद्धि भएको छ ।
सर्वाधिक शेयर मूल्य वृद्धि चन्द्रागिरि हिल्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ग्रीन लाइफ हाइड्रोपावर लिमिटेड, यूनाईटेड ईदी मार्दी आर्बी हाइड्रोपावर लिमिटेड, पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड र खानिखोला हाइड्रोपावर लिमिटेडको भएको छ । यी कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।
सर्वाधिक मूल्यको शेयर खरिद विक्री नेपाल इन्फ्राइस्टक्चर बैंक लिमिटेडको भएको छ । यो कम्पनीको २० करोड ४ लाख रुपैयाँभन्दा बढीको शेयर खरिद विक्री भएको छ । आज यो कम्पनीको शेयर मूल्य ५३० रुपैयाँ कायम भएको छ ।