Thursday, May 23Nepal News Portal
Shadow

नेपाल पक्षले ओलीसामू राख्यो ५ बुँदे असहमति


काठमाडौं, (ससं) । नेपाल कम्युनिष्ट पार्टि (नेकपा) एमालेको नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ५ बुँदे असहमति पत्र राखेका छन् ।
शनिबार (आज) । बालुवाटारमा बसेको बैठकमा पुगेर नेपाल पक्षका सांसद सोम पाण्डे, यज्ञराज सुनुवार र जीवनराम श्रेष्ठले असहमतिपत्र बुझाएका हुन् । उनीहरु सो पक्षमा ३७ जना सांसदको हस्ताक्षर समेत बुझाएका छन् ।

उनीहरूले बुझाएको पत्रमा केन्द्रीय कमिटीको बैठकबाट पारित नभई संसदीय दलको बोर्ड गठन गर्ने कार्य पार्टी विधान विपरीत र कानूनसम्मत नभएको उल्लेख रहेको छ ।

यस्तै नेकपा (एमाले) को विधानको धारा ४३ (ख) को ४ बमोजिम संसदीय दल तथा बोर्डको काम, कर्तव्य र अधिकार दलको विधान र नियमावली बमोजिम हुने कुरा स्मरण गराएको छ ।

यस्तै गरी अदालतको फैसला पश्चात् पार्टी विधानको धारा १४ (क) र (ख) को १, २, ३ बमोजिम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित तथा केन्द्रीय कमिटीको कुल सदस्य संख्याको १० प्रतिशतभन्दा बढी नहुने गरी मनोनित भई कायम भएका केन्द्रीय कमिटीका सदस्यहरूको उपस्थितिमा मात्रै कुनैपनि निर्णय हुनुपर्ने उल्लेख छ ।

त्यस्तै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको जिम्मेवारी हटाइएको तथा सदस्यको स्थान रिक्त नै नरहेको केन्द्रीय कमिटीमा पार्टी सदस्यता नै नलिएका व्यक्तिहरूलाई सदस्यका रुपमा मनोनयन गरी महत्वपूर्ण जिम्मेवारी दिइएकोमा आपत्ति जनाएको छ।

यस्तै नेकपा (एमाले) को संसदीय दलको विधान नभएको र सर्वोच्च अदालतबाट नेकपा (एमाले) पुनर्जीवित भएको स्थितिमा संसदीय दलको नयाँ विधान निर्माण गरी नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले अनुमोदन गर्नु माग नेपाल पक्षको रहेको छ ।
संसदीय दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा हुनुपर्ने पनि उनीहरूको माग छ।

Total Page Visits: 806 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्