काठमाडौं, (ससं) । पोर्टफोलियो बनाउने अनगिन्ती तरिका हुन्छन् । भनिन्छ हामीसँग समस्या समाधान गर्ने हजारौं तरिका छन् भने सजिलो उपाय छान्नु पर्दछ । पोर्टफोलियो बनाउनुको अर्थ आफूसँग भएको लगानीयोग्य पँजी, पैसा वा वचतलाई लगानीका विभिन्न विकल्प (सेयर, ऋणपत्र, निक्षेप, सरकारी,ऋणपत्र आदि) बाँड्नु भन्ने हुन्छ ।
लगानी हिजो वा विगतका लागि कहिले पनि गरिँदैन न त तत्कालका लागि गरिन्छ । लगानी जहिले पनि भविष्यमा लागि गरिन्छ, जुन आफैँमा अनिश्चित हुने गर्छ , जसमा जोखिम वा सम्भावित नोक्सानी (जोखिम) कम गर्नु हो । जोखिम कम गर्न आफुसँग भएको पैसालाई विभिन्न विकल्पमा बाँडेर लगाउने भन्ने कुरामा सहमत भए पनि कति वा कुन अनुपातमा बाँड्ने भन्ने कुरा निकै चुनौतीपूर्ण छ ।
उदाहरणका लागि तपाईसँग ५ लाख रुपैयाँ छ । यो पैसालाई तपाई लगानीयोग्य पैसाका रुपमा लिनुहुन्छ । लगानीयोग्य पैसा त्यस्तो पैसा हो, जुन तपाईसँग तत्काल आवश्यक छैन वा दैनिक उपभोग्य सामाग्री खरिदारका लागि प्रयोग हुदैन । त्यस्तो पैसालाई लगानीका विभिन्न विकल्पहरु सेयर, ऋणपत्र र निक्षपमा बाँडेर लगाउनुहुन्छ भने त्यो नै पोर्टफोलियो निर्माणको एउटा तरिका हो । विश्वमा सेयर बजारभित्र पनि लगानीका धेरै विकल्प छन् । संसारका सेयर बजार लगानीका विकल्पहरुमा धनी भए पनि हामी गरिव नै छौं । हामी गरिब आफैं बनेका भन्दा पनि बनाइएका हौं । जस्तो कि नियामक निकाय धितोपत्र बोर्डका कारण हामीले पर्याप्त विकल्प प्रयोग गर्न पाएका छैनौं ।
जबसम्म नयाँ विकल्पका लागि कानुन बन्दैनन् वा बनाइँदैन हामी विकल्पको प्रयोग गर्न सक्दैनौं । वित्तीय क्षेत्रमा विकल्पको प्रयोग हुनुभन्दा कानुन अगाडि बन्न आवश्यक छ । कानुन नबनी कसैले प्रयोग गरिहाल्न सक्ने अवस्था यहाँ रहँदैन । यसैले पनि पोर्टफोलियो निर्माणमा फरक फरक विकल्पको प्रयोग गर्न सक्ने अवस्थामा हामी छैनौं । यद्यपि भएका विकल्पको अधिकतम र विवेकसंगत प्रयोग गरेर बढी फाइदा लिनु नै हाम्रो उद्येश्य हुन्छ । हामीसँग पोर्टफोलियो निर्माणमा दुईवटा विकल्प छन् र ती पनि त्यति लचकदार छैनन् । हामीसँग सेयर वा इक्विटीको विकल्प छ र त्यो पनि एकोहोरो मात्र छ ।
यसको अर्थ किनेर राख वा बढेपछि फाइदा हुने प्रकृतिको मात्र कारोबार छ तर घट्दा फाइदा हुने गरी गरिने कारोबार वा सर्टसेल (सेयर सापटी लिएर गरिने कारोबार) छैन । जसका लागि कानुन बनेको छैन । बनाउने चेष्टा गरेको पनि देखिँदैन । यसैले पनि फाइदा लिनका लागि सेयर कारोबारको सबै तरिकालाई उपयोग गर्न सक्ने अवस्थामा हामी छैनौं । यस्तै हामीसँग निश्चित आय दिने विकल्पको पनि कमी नै छ । हामीसँग ऋणपत्र केही छन् तर दोस्रो बजारमा सूचीकृत भए पनि कारोबार छैन । अग्राधिकार सेयर त छँदै छैन ।
निश्चित आय भएको अर्को विकल्प भनेको बैंक तथा वित्तीय संस्थामा राखिने निक्षेप नै हो । यो चाहिँ पर्याप्त छ । जस्तो बचत, मुद्दति निक्षेप आदि । यिनै भएका विकल्पलाई म यहाँ दुई समूहमा राख्छु । एउटा उतारचढाव युक्त आयको विकल्प जसलाई हामी सेयर (इक्विटी) भन्छौं । यसको अर्थ सेयरले दिने प्रतिफल हरेक वर्ष वा ६ महिना वा तीन महिना वा महिनामा एउटै वा निश्चित हुने गर्दैन । कहिले बढी त कहिले कम हुने गर्छ । प्रतिफलभित्र पाउने लाभांश र सेयरको मूल्यमा हुने उतारचढाव (पुँजीगत लाभ वा नोक्सान) दुवै समावेश हुन्छन् ।
यसकारण पनि सेयरलाई उच्च जोखिमयुक्त विकल्पका रुपमा राखिन्छ । अर्को समूहमा निश्चित आय भएका लगानीका विकल्प पर्छन् । जसबाट हरेक महिना वा तीन महिनामा वा ६ महिनामा वा वर्षमा निश्चित आम्दानी प्राप्त हुने गर्छ । जस्तो बैंकमा राखेको निक्षेप (बचत, मुद्दति खाता), कम्पनी र सरकारले जारी गरेका ऋणपत्र । यी विकल्पमा निश्चित प्रतिशतका दरले ब्याज नियमित प्राप्त हुने तथा कम्पनी टाट पल्टेको अवस्थामा पनि फिर्ता पाउने प्रथमिकतामा पर्ने भएकाले जोखिम कम हुने गर्छ । यिनबाट पाउने प्रतिफल पनि तुलनात्मक रुपमा सेयरको भन्दा कम नै हुने गर्छ । (सेयर मन्त्र)