काठमाडौं, (ससं) । एमाले महासचिव ईश्वर पोखरेलले माधव नेपालसहित ४ नेतालाई स्पष्टीकरण सोधेको छ । पोखरेलले वरिष्ठ नेता माधव नेपाल, नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे र धनश्याम भुसाललाई स्पष्टीकरण सोधेका हुन् ।
पार्टी कार्यालका कर्मचारी कुमार उप्रेतीले चारै नेताका घरमा स्पष्टीकरण पुर्याइएको बताइएको छ । स्वकीय सचिवहरूमार्फत् स्पष्टीकरण पत्र थमाइएको हो ।
पार्टी हितविपरीत किन गतिविधी गरेको भनेर तीन दिने स्पष्टीकरण सोधिएको महासचिव पोखरेल निकट स्रोतले बतायो । शनिबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले माधव नेपालसहित चार जनालई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । बैठकमा ओली पक्षधर केन्द्रीय सदस्यहरू सहभागी थिए।
फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय सदस्य थपेको र विधान संशोधन गरेको भन्दै नेपाल समूहबाट कोही पनि शनिबारको बैठकमा उपस्थित भएका थिएनन्।