Friday, January 24Nepal News Portal
Shadow

कोभिड महामारीले जीडीपीको एक वर्षमा गुम्यो २७० अर्ब


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वले आर्थिक क्षेत्रमा ठूलो झड्का खेप्नु पर्यो । अहिले दोस्रो चरणको कोभिड महामारी सुरु भएको छ । दोस्रो चरणको महामारीबाट भारत सबैभन्दा बढी प्रभावित भएको छ । भारतमा कोभिड संक्रमितको संख्या दैनिक ४ लाखभन्दा बढीले थपिंदै गएको छ ।
यस्तै नेपालमा पनि बिहीबारसम्म कोरोना संक्रमितको संख्या बढेर दैनिक ९ हजार माथि पुगिसकेको छ । नेपालमा ३५०० भन्दा बढीले ज्यान गुमाइसकेका छन् । बन्दाबन्दी पूर्ण रूपमा हटेको र कोभिड– १९ विरुद्घको खोप लगाउने कार्यसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्यतर्फ फर्कन सुरु भइसकेको थियो ।
तर, पछिल्लो समयमा कोभिड–१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको र नेपालमासमेत संक्रमण दर र जोखिम बढ्न थालेको हुँदा अर्थतन्त्र अझै पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको छ ।

दोस्रो चरणको महामारीले अर्थतन्त्रमा पहिलाको भन्दा बढी नोक्सान पुर्याउने आँकलन गरिएको छ । नेपालमा केन्द्रीय सरकारले सिधै लकडाउन नगरे पनि जिल्ला प्रशासन कार्यालयहरूले धमाधम निषेधाज्ञा लागू गरेका छन् ।
गत आर्थिक वर्षमा नेपालको अर्थतन्त्रमा कुल ग्राहस्थ उत्पादन (जीडीपी) को ७.१ प्रतिशत बराबरको आर्थिक नोक्सान भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष २ खर्ब ७० अर्ब रुपैयाँ अर्थात २ अर्ब ३० करोड अमेरिकी डलर नोक्सानी भएको छ । यो रकम चालू आर्थिक वर्ष ०७७/०७८ अर्थात सन् २०२०/२१ को ७.१ प्रतिशत हो ।

कोरोना महामारी सुरु भएसँगैको अवस्थामा आर्थिक वर्ष ०७६/०७७ अर्थात २०१९/२० मा आर्थिक वृद्धि ८.५ प्रतिशतभन्दा माथि हुने लक्ष्य राखिएको थियो । महामारी बढेपछि यो वृद्धि २.३ प्रतिशत हुने अनुमान गरिएको थियो । गत वर्ष नेपालको आर्थिक वृद्धि १.९ प्रतिशतले ऋणात्मक भएको केन्द्रीय तथ्यांक विभागले जानकारी दिएको छ ।

यो ऋणात्मक अवस्था ४० वर्षपछि आएको विभागले जानकारी दिएको छ । हालै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपणअनुसार नेपालको आर्थिक वृद्धि सन् २०२१ मा २.९ प्रतिशत र सन् २०२२ मा ४.२ प्रतिशत हुनेछ । २०७२ को विनाशकारी भूकम्प र भारतको अघोषित नाकाबन्दीले आर्थिक विस्तार खुम्चिएर ०.२ प्रतिशतमा सीमित भएको थियो ।

चालू आर्थिक वर्षमा सरकारले ३।९ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको छ । सरकारले चालू आर्थिक वर्षमा आर्थिक विस्तार ७ प्रतिशत हुने अनुमान गरेको थियो ।

तर, महामारीको दोस्रो चरण सुरु भइसकेकाले चालू आर्थिक वर्षमा पनि गत वर्षको जस्तै आर्थिक वृद्धि ऋणात्मक हुने संभावना बढेको छ । कोभिड–१९ का कारण विश्वले आर्थिक क्षेत्रमा ठूलो झड्का खेप्नु परेको छ । गत वर्ष विश्वले ३० खर्ब डलर बराबरको क्षति बेहोर्नु परेको विश्व बैंकले जनाएको छ ।

दोस्रो चरणको संक्रमणले ल्याएको आर्थिक झट्काले नेपालको उत्पादन, आय, रोजगारी, मूल्य तथा अर्थतन्त्रका अन्य सबै क्षेत्र प्रभावित हुने निश्चित छ । कोभिडको असर यति समयसम्म रहने भन्ने कुनै निश्चितता नभएकाले यसबाट सुरक्षित रहँदै आफ्ना गतिविधि सञ्चालन गर्नुपर्ने स्थिति छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्