काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार कोरोना भाइरस सुरु भएयता भ्वाइस कल गर्ने ग्राहकको संख्या नौ लाख चार हजारले बढेका छन् । गत वर्ष चैत मसान्तमा भ्वाइस कल गर्ने ग्राहकको संख्या तीन करोड ८६ लाख रहेकोमा हाल यो संख्यामा वृद्धि भई तीन करोड ९५ लाख पुगेको हो ।
नेपाल टेलिकम
नेपाल टेलिकमको गत वर्ष चैतमा भ्वाइस कल प्रयोग गर्ने ग्राहकको संख्या एक करोड ९६ लाख रहेको थियो भने हाल सो संख्यामा वृद्धि भई दुई करोड ११ लाख पुगेको हो ।
एनसेल
गत वर्ष चैतमा एनसेलबाट भ्वाइस कल गर्ने ग्राहकको संख्या एक करोड ६९ लाख रहेको थियो भने हाल सो संख्यामा एक करोड ६० लाख ९८ हजार पुगेको छ ।
स्मार्ट टेलिकम
स्मार्ट टेलिकमका भ्वाइस कल गर्ने ग्राहकहरू कोरोना महामारी सुरु हुनुअघि २१ लाख सात हजार रहेको थियो भने हाल भ्वाइस कल गर्ने ग्राहकको संख्या २२ लाख ९० हजार पुगेको छ ।
दूरसञ्चार कम्पनीहरूले डाटा प्रयोगकर्ताको तुलनामा भ्वाइस प्रयोगकर्ता कम हुने बताएका छन् । बढ्दो सामाजिक सञ्जालको प्रयोगका कारण पनि पछिल्लो समय भ्वाइस कल गर्नेहरू घट्दो छन् । विगतमा व्यापारिक प्रयोजनदेखि वैदेशिक कल ह्यान्ड सेटबाटै डायल गरेर बोल्नु पर्ने बाध्यता थियो । तर अहिले सो अवस्था फेरिएको छ ।
ग्राहकहरूले इन्टरनेकै माध्यमबाट भ्याइस कल गर्न रुचाउँछन् । इन्टरनेटको माध्यमबाट भ्वाइस कल गर्दा सस्तो मूल्यमै लामो समयसँग कुरा गर्न पाइने भएकाले त्यसतर्फ ग्राहकहरू आकर्षित हुँदै गएको प्राधिकरणले जनाएको छ । विश्व बजारमै सामाजिक सञ्जालको प्रयोग बढेकाले फोन डायल गरेर भ्वाइस कल गर्नेहरू कम हुन थालेको प्राधिकरणले बताएको हो ।