Sunday, February 16Nepal News Portal
Shadow

माउन्टेन इनर्जीको मिस्ट्री खोला आयोजनाबाट २९ वैशाख देखि बिजुली उत्पादन हुने


काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले निर्माण गरेको ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजनाबाट बुधबार (वैशाख २९ गते) देखि बिजुली उत्पादन हुने भएको छ । कोरोना संक्रमणमा परेका सबै कर्मचारहरु संक्रमणमुक्त भइसकेकाले आयोजनाबाट आगामी बुधबारदेखि बिजुली उत्पादन हुने भएको हो ।

यसअघि चैत १५ विद्युत उत्पादन थाल्ने योजना भए पनि आयोजना स्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि झण्डै डेढ महिना धकेलिन पुगेको हो । अहिले परीक्षण उत्पादन भइरहेको आयोजना प्रमुखले जानकारी दिएका हुन् ।

उनका अनुसार आउँदो १५ दिनसम्म परीक्षण गरेपछि आयोजनाबाट व्यापारीक उत्पादन सुरु हुनेछ । परीक्षण उत्पादन सफल भएपछि प्रणालीमा जोडिने छ ।

आयोजनाबाट उत्पादन हुने विद्युत २२० केभी दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन आयोजनाले नै निर्माण गरिसकेको छ ।

आयोजना निर्माणमा ढिलाइ भए पनि लागत सस्तो परेको छ । आयोजनाको प्रतिमेगावाट लागत १४ करोड रुपैयाँ हारहारीमा रहेको छ । हाल जलविद्युत आयोजनाको लागत प्रतिमेगावाट २० करोड रुपैयाँ पुगेको छ ।

आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेस्टमेन्ट बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड नेपाल बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक र साविकको एस डेभलपमेन्ट बैंक हालको नेपाल इन्भेस्टमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।

आयोजना बनाउन ५ अर्ब ६७ करोड रुपैयाँ लागेको अनुमान गरिएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकले ७० करोड, एचआईडीसीए ले १ अर्ब र नेपाल बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन ।

यसैगरी नबिल बैंकले १ अर्ब, लक्ष्मी बैंकले ४० करोड, सिद्धार्थ बैंकले ३० करोड र तत्कालिन एस डेभलभमेन्ट बैंक हालको नेपाल इन्भेस्टमेन्टको ३० करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत ठूला व्यवसायिक घरानाले स्वपुँजी ।९इक्विटी० लगानी गरेका छन् । आयोजनाको निर्माण २०७३ जेठ ३१ गतेदेखि सुरु भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरिसकेको छ । कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भइरहेको छ । माउन्टेनले नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्