काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा (७६) को २ बमोजिम वैकल्पिक सरकार गठनको आह्वान गरेकी हुन् । राष्ट्रपतिले सरकार गठनको समयसीमा ३ दिन तोकेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत गुमाए । ओलीले विश्वासको मत गुमाएपछि वैकल्पिक सरकारको आह्वान गरिएको हो ।
सोमबार संसदमा भएको विश्वासको मतको पक्षमा ९४, विपक्षमा १२४ र १५ जना सांसद तटस्थ बसेका थिए । त्यस लगत्तै प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीले संविधानको धारा (७६) को २ बमोजिमको बहुमतको सरकारको प्रक्रिया सुरु गर्न माग गरेका थिए ।