काठमाडौं, ३ कार्तिक (ससं) । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ८ बुवालुङले स्थानीयलाई एक घरबाट अर्काेघर हिडडुल गर्न प्रतिवन्ध लगानएको छ । स्थानीय एक पुरुषलाई कोरोना संक्रमण देखिएपछि वडा कार्यालयले १४ दिनसम्मका लागि सम्बन्धीत सरोकारवाला कार्यालय बाहेक स्थानीयलाई हिडडुल गर्न प्रतिवन्ध लगाएको हो ।
त्यस्तै अर्काे वडाबाट वडा नं. ८ मा आउजाउ गर्न पनि प्रतिवन्ध लगाइएको छ । उक्त निर्णयलाई उल्लङघन गरे प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।
वडा अध्यक्ष लिला चौहानका अनुसार काठमाडौंबाट उक्त वडामा आएका ती पुरुषलाई कारोना भाइरस संक्रमण पुष्टि भएको थियो । ती पुरुषलाई संक्रमण देखिएकोले स्थानीयमा पनि कोरोना संक्रमण फैलिएको हुन सक्ने आशंकाले वडा कार्यालयले कडा नियम लागु गरेको अध्यक्ष चौहान बताउँछन् । ‘गाउँघरमा कोरोनालाई खेलाचिको रुपमा लिने र जोसँग पनि भेटघाट गरी संक्रमण फैलाउँने डरले गर्दा वडा कार्यालय यो निर्णय गर्न बाध्य भएको हो,’ उनले भने, ‘हामी जो जहाँ छौ त्यहीँ बसेर दशैं मनाऊँ ।’
दशैंको मुखमा वडाको यस्तो निर्णयले सर्वसाधारणलाई मर्का परेको बताइएको छ । बाहिरी जिल्लाबाट उक्त वडामा आउँन प्रतिवन्ध लगाइएको भन्दै जनस्तरबाट पनि विरोध सुरु भएको छ । महामारी नरोकिने भएकाले सरकारले लागु गरेका स्वास्थ्य मापदण्ड लागु गरी आफ्नो घरमा सुरक्षितसाथ जान दिन कतिपयले अनुरोध गरेका छन् ।