काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले संसदीय दलका नेता केपी शर्मा ओली नेपालको ४२औं प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा संविधानको धारा ७६(३) अनुसार नियुक्त भएका हुन् ।
प्रधानमन्त्री ओलीको शपथ ग्रहण शुक्रवार(आज) दिउँसो तोकिएको छ । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्नेछ र त्यो सिद्ध गर्न नसके धारा ७६(५) अनुसार सरकार गठनको प्रयास हुनेछ । त्यो पनि सफल नभए मुलुक मध्यावधि चुनावतिर जानेछ ।
वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएका थिए । उनले प्रतिनिधिसभामा विश्वासको मत लागि भएको मतदानमा तत्काल कायम २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो । ओलीको प्रस्तावको विपक्षमा १२४ मत खसेको थियो । प्रधानमन्त्री ओली कामचलाउ भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिँदै नयाँ सरकारका लागि आह्वान गरेकी हुन् ।
बहुमतको सरकार गठनका लागि ३ दिनसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच प्रयास भएको थियो । तर, अन्तिम समयमा आएर नेकपा एमालेको माधवकुमार नेपाल पक्षको असहयोग र जसपाकै महन्थ ठाकुर ओलीतिर ढल्किँदा गठबन्धनको सरकार बनाउने योजना सफल हुन सकेन ।
बिहीवार साँझ ९ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सदस्यले प्रधानमन्त्रीमा दाबी पेश नगरेको जानकारी राष्ट्रपति कार्यालय स्रोतले जनाएको हो ।