Wednesday, January 15Nepal News Portal
Shadow

बिराटनगरमा एकै दिन कोरोना संक्रमणका कारण ७ जनाको ज्यान गयो


कोरोना संक्रमणका कारण बिराटनगरमा एकै दिन सात जनाको मृत्यु भएको हो।

आइतबार बेलुकादेखि सोमबार बिहानसम्मको अवधीमा बिराटनगरका पाँच वटा अस्पतालमा उपचाररत् सात जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा तीन तथा न्युरो अस्पतालको कोभिड १९ अस्पताल, विराट नर्सिङहोम, नोबेल र विराट मेडिकल कलेजको आइसोलेसनमा एक–एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्ये पाँच महिला र दुई पुरुष रहेका छन् ।

मोरङ कटहरी गाउँपालिका–२ आदर्श टोलकी २१ वर्षीया युवतीको बिहान ५ः३० बजेतिर कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको छ । केन्द्रका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई त्यही दिन उपचारका लागि भर्ना गरिएको थियो ।

विराटनगर महानगरपालिका–१२ की ६४ वर्षीया वृद्धाको कोशीमै बिहान ४ः४५ बजेतिर मृत्यु भएको छ । उनलाई सोमबार उपचारका लागि भर्ना गरिएको थियो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ३८ वर्षीय पुरुषको सोमबार साँझ ६ः३० बजेतिर कोशी कोभिड अस्पतालमा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई सोमबार दिउँसो कोभिड अस्पताल भर्ना गरिएको थियो ।

यसैगरी विराट नर्सिङ होममा मोरङको रंगेलीका वृद्धको मृत्यु भएको छ । रंगेली नगरपालिका–३ का ८५ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो । असोज २८ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट पोजेटिभ आएको थियो । उनको सोमबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।

न्युरो अस्पतालमा उपचाररत एक वृद्धाको मंगलबार बिहान मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ गते न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यसैगरी नोबेल मेडिकल कलेजमा विराटनगर महानगरपालिका–७ की ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको छ । असोज २६ गते कोरोना पोजेटिभ देखिएकी महिलालाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा आज बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताले जनाएको छ ।

यस्तै झापा विर्तामोड–४ की ७६ वर्षीया संक्रमित वृद्ध महिलाको मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्