काठमाडौं । अपि पावर कम्पनीले जेठ २० गतेदेखि हकप्रद सेयर बिक्रि खुल्ला गर्ने भउको छ । कम्पनीले जेठ २० गते बिहीबारदेखि १ः०.२९३८ अनुपातमा हकप्रद सेयर बिक्री खुला गर्ने भएको हो ।
अपि पावर कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्ने भएको हो । हकप्रद जारी गर्न कम्पनीले वैशाख २९ गते बुक क्लोज गरिसकेको छ । बैशाख २८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।
अपि पावर कम्पनीले ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ रहेको छ भने २९.३८ प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ ।
अपिको हकप्रद सेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर थापाथली तथा मुक्तिनाथ विकास बैंकको इटहरी, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
अपि पावरको हकप्रद सेयरलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस इस्युअर रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।