काठमाडौं । नेपाल टेलिकमले नेपालमा आफ्ना सेवाग्राहीका लागी भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीइ) सेवा आज जेठ ३ गते (सोमबार) देखि शुरु गरेको छ।
टेलिकमले अन्तर्राष्ट्रिय आईटीयू डे (मे १७) देखि हाल उपलब्ध गराइरहेको फोरजी फोरजीरएलटीइ नेटवर्कमा आधारित भीओएलटीई सेवा उपलब्ध गराउन लागेको हो।
प्रयोगकर्ताका लागि परीक्षण शुरु गर्नुअघि टेलिकमले भीओएलटीईका लागि उपयुक्त मोबाइल सेटहरूमा परीक्षणको काम सम्पन्न गरिसकेको छ। गत पुसदेखि नै भीओएलटीई चल्न सक्ने मोबाइलका सम्बन्धमा कम्पनीले बारम्बार परीक्षण गर्दै आएको थियो।
अब भने प्रयोगकर्ताकै तहमा यो सेवा परीक्षण हुने भएको छ। यो सेवा देशैभरका फोरजी प्रयोगकर्ताले सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
कसरी लिने सेवा ?
नेपाल टेलिकमको टेलिकमको भीओएलटीई सेवा लिन आफ्नो मोबाइलमा * ४४४# डायल गर्नुपर्ने हुन्छ। डायल गर्दा त्यहाँ तीन ओटा विकल्प देख्न सकिन्छ। जसमा सबैभन्दा माथि फोरजी सेवा शुरुको अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ।
त्यसपछि भीओएलटीइ सेवा सुरु गर्न सोहि नम्बर डायल गरेर दोस्रो नम्बर छनोट गर्नुपर्ने हुन्छ। यो सेवा नलिएको भए त्यसमै डायल गरेर तेस्रो नम्बरमा रहेको ‘डिएक्टिभेट भीओएलटीई’ भन्ने विकल्प छनोट गर्नुपर्नेछ।
टेलिकमका अनुसार भीओएलटीई सेवा लिन आठ सय र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनु भने अनिवार्य छ। केही भारतीय मोबाइल सेटमा आठ सय मेगाहर्ज ब्यान्ड सपोर्ट नगर्ने भएकाले टेलिकमले सो ब्यान्डमा उपलब्ध गराइरहेको फोरजी सेवा लिन कतिपय ग्राहक असमर्थ भइरहेका छन्।