काठमाडौं । सेयर बजारमा आज (सोमबार) पनि हरियाली छाएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि राम्रो भएको छ । केही समयको करेक्सन र साइडवेजपछि बजारले आइतबारबाट फेरि नयाँ उचाईको सुरुवात गरेको हो । अब विस्तारै नयाँ रफ्तारमा अघि बढ्ने अपेक्षा गरिएको छ । सोमबार पनि नेप्सेले अहिलेसम्मकै उच्च विन्दु बनाएर अलटाइम हाइ रेकर्ड बनाएको छ । शेयर बजारमा नियमित सिजन सुरु भएको छ ।
सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण आएको छ । औसतमा कम्पनीहरुले राम्रो नाफा कमाएका छन् । बैंकहरुको पनि नाफा वृद्धि भएको छ । बिमा तथा माइक्रोफाइनान्सहरुको रिपोर्ट पनि उत्साहप्रदनै छ । यस्तै, बैंक ब्याजदर पनि सस्तो छ । वित्तीय प्रणालीमा सहज तरलताको अवस्था छ । यस्तै, जेठ लागेसँगै सेयर बजारमा सिजन सुरु भएको छ ।
यी परिदृश्यहरुका आधारमा शेयर बजारले आगामी दिनहरुमा अझै सकारात्मक लय समाउने अपेक्षा गरिएको छ । अर्थमन्त्रीले कोरोना प्रभावितलाई मुख्य राहत पुग्ने गरी बजेट ल्याउने बताएका छन् । यसबाट पनि वित्तीय क्षेत्र सुधारमा राहत पुग्ने अपेक्षा गरिएको छ । त्यसो त शेयर बजारको चाल र प्रवृत्ति सधैं एउटै हुँदैन । यसले विभिन्न चरणमा फरक–फरक किसिमका प्रवृत्तिहरु देखाउने गर्दछ । यसर्थ, दीर्घकालीन लगानीकर्तालाई यी चरण र प्रवृत्तिबाट खासै नकारात्मक असर गर्दैन ।
तर अल्पकालीन लगानीकर्ताले भने तत्कालको चाल र गति अध्ययन गरेरै खरिदबिक्रीको निर्णय लिने गर्छन् । लगानीकर्ताले कम्पनीको खुद नाफा, वितरणयोग्य नाफा, प्रतिसेयर आम्दानी, मूल्य, आम्दानी अनुपात र व्यवसाय विस्तारको सम्भावना लगायतलाई ख्याल गर्दै लगानी सम्बन्धी निर्णय लिनु उचित हुने अनुभवीहरुको सुझाव रहने गरेको छ ।
जोखिम बहन क्षमता र धैर्ययता शेयर बजारका अरु महत्वपूर्ण पक्ष हुन् । नेप्से सूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा आइपुगेको छ । ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ । आज २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजारभन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन हाइड्रोपावर र अन्य समूहमा बढी चमक आएको छ । १३ मध्ये १० वटा समूहको सूचक वृद्धि भएका छन् ।
११ कम्पनीको भाउ ९प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म वृद्धि भएको छ । खरिदबिक्री रकममा ६६ करोड रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी उच्च स्थानमा रहेको छ ।