Thursday, November 14Nepal News Portal
Shadow

‘एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल’ अभियानको प्रभावकारिता बढ्दै


काठमाडौं । कोभिड–१९ को नयाँ भेरियण्टको संक्रमणको महामारिबाट आक्रान्त आम सर्वसाधारणको स्वस्थ्य सुरक्षालाई उच्चतम प्राथमिकतामा राखी सहयोगका लागि नेपाल उद्योग वाणिज्य महासंघले अगाडि बढाएको एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियान अन्तरगत संचालित सबै कार्यक्रमहरूबाट ठूलो संख्यामा सेवाग्राहीहरु लाभान्वित भैरहेको बताइएको छ । महासंघले वैशाख २६ गतेदेखि थालेको यस अभियान अन्तगत हाल २ वटा आइशोलेशन तथा उपचार केन्द्र, महासंघ कोभिड–१९ सहायता केन्द्र र हेल्लो डाक्टर स्वास्थ्य परामर्श सेवा संचालनमा छन् ।

त्यसैगरी महासंघले अन्य थप कार्यक्रमहरू पनि संचालनमा ल्याउने योजनामा बनाएको बताएको छ । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपालअन्तर्गत क्षेत्रपाटीस्थित पुरानो गोर्खा अस्पतालको भवनमा स्थापना गरिएको कोभिड आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र संचालनमा आएको छ । उक्त आइशोलेशनको महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले सोमबार शुभारम्भ गरेका हुन् । सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, महानगरपालिका वडा नम्वर १७ का वडाध्यक्ष नविन मानन्धर, पूर्व मन्त्री भिमसेनदास प्रधान, महासंघको कार्यकारिणी समितिका सदस्यहरू, स्वास्थ्यकर्मी र वडावासीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा पूर्व उपप्रधानमन्त्री सिंह र महानगरपालिकाका उपमेयर खडगी (श्रेष्ठ)ले आइशोलेशन सेन्टरको प्रभावकारी संचालनमा आआफ्नो क्षेत्रबाट सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

महासंघका अध्यक्ष गोल्छाले कोभिड महामारी मुलुकका लागि यतिखेर निकै ठूलो चुनौती भएर आएकोले यस चुनौतीलाई परास्त गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्न महासंघ दत्तचित्त भई लागेको बताए । उनले मुलुक अप्ठेरोमा पर्दा महासंघले सधै अग्रभागमा रहेर सेवा गरेको इतिहास रहेको बताए ।

महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले आममानिसको स्वास्थ्य सुरक्षानै यतिखेर प्रमुख चासो रहेकाले महासंघले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियाननै संचालन गरी संक्रमणको चपेटामा परेका नेपाली दाजुभाई दिदीवहिनीहरूलाई सहयोग गर्न हातेमालो गरेको स्पष्ट पारे ।

उक्त आइशोलेशन एवं प्राथमिक उपचार केन्द्र स्थापना एवं संचालन गर्ने सम्बन्धमा नेपाल उद्योग वाणिज्य महासंघ र काठमाडौं महानगरपालिका वडा नम्वर १७ बीच गत वैशाख ३० गते एक समझादारीपत्रमा हस्ताक्षर गरिएको थियो । सेन्टर अहिले ५० वटा बेडबाट शुरु गरिएको छ र आवश्यकताका आधारमा विस्तार गर्दै पछि १ सय वेडसम्म पुरयाइने योजना छ । उक्त केन्द्रमा कोभिड भई घर वा कोठामा नै आइशोलेशनमा बसी हेरचाह, रेखदेख गर्न सम्भव नरहेका कोभिड विरामीहरूलाई उचित खाना, औषधि, वासस्थानको व्यवस्था गरी स्वास्थ्यकर्मीहरूको निगरानीमा राखी आइशोलेशन सेवा प्रदान गरिने छ ।

केन्द्र अन्तर्गत आइशोलेशनमा रहेका विरामीहरूलाई आपतकालिन रूपमा अक्सिजन दिनुपर्ने भएमा अक्सिजन दिई प्राथमिक उपचार गर्ने वा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा विरामीहरूलाई सम्बन्धित अस्पतालमा पठाउने व्यवस्था हुने बताइएको छ ।

महासंघ र वडा नम्वर १७ बीचको आपसी सहमती अनुसार महानगरपालिका वडा कार्यालयले चिकित्सक, नर्स एवं स्वयम् सेवकको नियुक्ति एवं परिचालन गर्ने, आइशोलेशनमा रहेका विरामीहरूको रेखदेख, स्याहार सुसार र स्वास्थ्यकर एवं पौष्टिक खानाको उपयुक्त व्यवस्थापन गर्ने, आइशोलेशनमा रहेका आपतकालिन वा आकस्किम उपचारको स्थितिमा रहेका विरामीहरूलाई चिकित्सकको सिफारिशमा सम्बन्धित अस्पतालमा पठाई उपचारको व्यवस्था मिलाएको छ भने महासंघले कोभिड आइशोलेन एवं प्राथमिक उपचार केन्द्रको संचालन तथा व्यवस्थापनको लागि आवश्यक आर्थिक स्रोतको जोहो गर्नेछ ।

त्यसैगरी महासंघले भगवान महावीर जैन–निकेतन, आरम्भ फाउण्डेशन र का.म.न.पा.वडा नम्वर २९ को सहयोग एवं सहकार्यमा वैशाख ३० गतेदेखि काठमाडौंको कमलपोखरीस्थित जैन निकेतमा ५० बेडको ड्राई आइशोलेशन केन्द्र (अक्सिजन र आपतकालिन सेवा वाहेकको) संचालनमा ल्याइसकेको छ । उक्त केन्द्र मार्फत हाल ४० जनाले सेवा पाइरहेका छन् ।

उक्त केन्द्र संचालनका लागि भगवान महावीर जैन निकेतनले स्थान उपलव्ध गराएको छ भने आरम्भ फाउण्डेशनले आइशोलेशनको दैनिक व्यवस्थापन र संचालन गर्ने जिम्मेवारी सहित दुई जना स्वास्थ्यकर्मी र एक जना चिकित्सको व्यवस्था गरी आइशोलेसनमा रहेका संक्रमितहरूको २४ सै घण्टा स्वास्थ्य परीक्षण, स्वास्थ्य परामर्श सहित औषधि उपचारको व्यवस्थापन गरिरहेको छ । स्थानीय तहमा संक्रमितहरूसंग समन्वय गर्ने कार्यमा काठमाडौं महानगरपालिका वडा नम्वर २९ ले सहयोग गरिरहेको छ ।

जैन निकेतमा संचालित आइशोलेशन केन्द्रमा रहने संक्रमितहरूका लागि बिहान बेलुकाको खाना र दिउसोको खाजाको प्रवन्ध गरिएको छ । केन्द्रमा अक्सिजन बाहेक कोरोना संक्रमितहरूका लागि दिइने खाने औषधिहरु समेत उपलव्ध गराईएको छ ।

त्यसैगरी महासंघले कोभिड संक्रमितहरूलाई स्वास्थ्य परामर्श दिन वैशाख २६ गतेदेखि हेल्लो डाक्टर कार्यक्रम संचालन गरेको छ । भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् । यसबाट सयौ मानिसहरूले स्वास्थ्य परामर्श लिई लाभान्वित भैरहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्