काठमाडौं । प्रभु क्यापिटल सामुहिक लगानी कोष अन्तरगत पहिलो योजना प्रभु सेलेक्ट फण्डको यही जेठ ५ गते (बुधबार) बिक्री खुल्ला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।
यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।
निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा जेष्ठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।
नेपालको सेयरबजारमा धेरै सेक्टरका सेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तीय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये अधिकतम ३० वटा कम्पनीहरुको शेयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु सेलेक्ट फण्ड राखिएको छ । यो योजना अन्तरगत संकलन भएको रकमबाट अधिकतम ३० वटा सेलेक्टेड कम्पनीहरुमा लगानी गरी त्यसैमध्येबाट नियमित खरिदबिक्री गरिनेछ ।