काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस् देखिएपछि सरकारले निषेधाज्ञा जारी गर्दा पनि निर्माण सामग्रीको मूल्य बढिरहेको छ । निर्माण व्यवसायीहरु निरन्तर खबरदारीमा उत्रिरहे । तर, अहिले निर्माणको काम पनि ठप्प हुँदा सिमेन्ट र डण्डी उद्योगहरुको बिजोगनै भएको छ ।
मूलुकका ७७ मध्ये ७५ वटा जिल्लामा निषेधाज्ञा लागू हुँदा भौतिक संरचना निर्माणको काम हुन सकेको छैन । यसको प्रत्यक्ष असर निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरुमा परेको हो । सिमेन्ट र डण्डीको माग ६० प्रतिशतले घटिसकेको छ । माग ४० प्रतिशत रहेपनि उद्योगहरुले त्यो माग अनुसारका सामग्री पनि उत्पादन गर्न पाएका छैनन् ।
कारण के?
अहिले सिमेन्ट उद्योगमा अक्सिजन छैन । कोरोनाका कारण अस्पतालहरुमा अक्सिजन सिलिण्डर अभाव भएपनि उद्योगहरुले आफूसँग भएका सिलिण्डर स्वास्थ्य संस्थालाई दिएका छन् । एउटा फलामे डण्डी उद्योगमा दैनिक ३० अक्सिजन सिलिण्डरसम्म अक्सिजन खपत हुने गरेकोमा अहिले सबै सिलिण्डर अस्पतालमा पठाईएको छ ।
अक्सिजन नभई स्टिल तथा बिलेट उद्योग सञ्चालन गर्न नसकिने भएकाले अहिले उत्पादन हुन नसकेको उद्योगीहरु बताउँछन् । अक्सिजन नहुँदा उद्योगहरु बन्द गर्नु परेका कारण बजारमा सिमित मात्रामा रहेको माग पनि उद्योगहरुले पूरा गर्न नसकेको स्टिल उद्योगीहरु बताउँछन् ।
यति मात्रै नभई, कर्मचारी र उद्योगीहरु कोरोना संक्रमित भएर आईशोलेशनमा बसेका कारण अहिले उद्योग चल्न पाएका छैनन् । चलेका केही उद्योगहरु पनि क्षमताको १० देखि २० प्रतिशतमा मात्रै चलेका छन् ।