काठमाडौं । नेपालका जीवन बीमा कम्पनीको पूँजी कोष ५१ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । विगत ५ वर्षको अवधिमा जीवन बीमा कम्पनीहरुको पूँजी कोष झण्डै तीन गुणाले वृद्धि भएको हो । आर्थिक वर्ष २०७३/७४ मा जीवन बीमा कम्पनीहरुको पूँजी कोष १७ अर्ब २८ करोड रुपैयाँ थियो भने यस आर्थिक वर्षमा जीवन बीमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४३ करोड रुपैयाँ थियो र जगेडा कोषमा ८ अर्ब ८५ करोड रुपैयाँ थियो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा हेर्ने हो भने जीवन बीमा कम्पनीको चुक्ता पूँजी ३८ अर्ब २० करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १२ अर्ब ८७ करोड रुपैयाँमा सिमित छ । यस अवधिमा बीमा समितिले पुराना जीवन बीमा कम्पनीहरुलाई पूँजी बृद्धि गर्न निर्देशन दियो भने नयाँ १० वटा जीवन बीमा कम्पनीलाई जीवन बीमा व्यवसाय सञ्चालन गर्ने अनुमति प्रदान गर्यो । समितिले ५० करोडको पूँजीलाई एकैट पटक २ अर्ब पुर्याउन निर्देशन दिदा कतिपयले बोनस शेयरबाटै पूँजी जुटाए भने अधिकाम्सले बोनस शेयर हकप्रद मार्फत जुटाउन सफल भए । नयाँ लाइसेन्स पाएका १० कम्पनी मध्ये तीन वटाले प्राथमिक शेयर निष्काशन गरेर चक्ता पूँजी २ अर्ब नघाउन सफल भएका छन् भने बाँकी ७ वटा प्राथमिक शेयर निष्काशन गर्ने प्रक्रियाँमा छन् ।
जीवन बीमा कम्पनीको पूँजी ३८ अर्ब २० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षमा मात्रै जीवन बीमा कम्पनीहरुको चुक्ता पूँजी तीन अर्ब ८३ करोड रुपैयाँले बृद्धि भएको छ । तीन कम्पनीको प्राथमिक शेयर र केहि कम्पनीको बोनस शेयरका कारण कम्पनीको पूँजी बढेको हो ।
पूँजीका हिसावले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा बलियो छ । तर जगेडा कोषका हिसावले हेर्ने हो भने मेट लाइफ बलियो छ । अमेरिकन जीवन बीमा कम्पनी मेटलाईफको शाखाको रुपमा सञ्चालन भएकाले मेट लाइफको चुक्ता पूँजी छैन ।
चुक्ता पुँजी र महाविपत्ती कोषमा नेपाल लाइफ अघि देखिएपनि जगेडा कोषमा भने मेट लाइफ इन्स्योरेन्स कम्पनी अघि रहेको कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ । कोरोना महामारीको पहिलो लहरले जीवन बीमा कम्पनीहरुको व्यवसायमा खासै प्रभाव परेको देखिदैन ।