काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनको विरुद्ध सर्वोच्च अदालतमा २४ रिट निवेदन दर्ता भएका छन् । सोमबार (आज) सम्म प्रतिनिधिसभा विघटन विरुद्धमा २४ रिट निवेदन दर्ता भएका हुन् ।
प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत १४६ सांसदले संयुक्त रूपमा प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ता गराएका छन् । भने अन्य २३ रिट निवेदन प्रतिनिधिसभा विघटनको विरुद्धमा दर्ता भएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।
सर्वोच्चमा दर्ता भएका रिटमध्ये २४ रिट निवेदनमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिएका हुन् । जसमध्ये ९ रिट संवैधानिक इजलासँग सम्बन्धित छन् भने १५ रिट एकल इजलासका लागि दर्ता भएका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्रीमा केपी ओलीलाई नै निर्वाचित गरियोस् भन्ने माग राखेर ४ रिट निवेदन दर्ता गरिएको पौडेलको भनाई छ । ती रिटमा घोषणा गरिएको समयमा नै निर्वाचन हुनुपर्ने माग गरिएको छ ।