Tuesday, December 3Nepal News Portal
Shadow

निषेधाज्ञामा बिजुलीको महसुल कसरी तिर्ने ? हेर्नुहोस्


काठमाडौं। कोरोना भाईरस (कोभिड-१९) महाव्याधिका कारण मिटर रिडिङका लागि ग्राहकहरुको घरसम्म कर्मचारी पठाउन नसक्ने भएपछि नेपाल विद्युत प्राधिकरणले अब एसएमएसबाटै उपभोक्तालाई बिजुलीको बिल पठाउने भएको छ । यसका लागि प्राधिकरणले नेपाल टेलिकम र एनसेलसँग सम्झौता गरिसकेको जानकारी दिएको हो।

कोभिड १९ को संक्रमण फैलनबाट रोक्न सरकारले निषेधाज्ञा जारी गरेका कारण पछिल्लो महिनायता मिटर रिडिङ हुन सकेको छैन। सोही कारण एसएमएसमार्फत बिल पठाउन लागेको हो। प्राधिकरणले कार्यालयबाटै मिटर रिड गरेर एसएमएसमा बिल पठाउने बताएको छ।

फिल्डमा नगइकनै कार्यलयबाटै बिलिङ गर्दा प्राधिकरणले गत वर्षको समान महिनाको र यस वर्षको अघिल्लो महिनाको बिल रकमलाई सन्दर्भ मानेर सोही हाराहारीको बिल अहिले पठाउनेछ। सिजन अनुसार विद्युत खपत फरक पर्ने भएकाले प्राधिकरणले यसरी दुई फरक अवधिको बिलिङ रकमलाई सन्दर्भ मान्न खोजेको हो। वास्तविक खपत त्यसभन्दा तल(माथि परे पछि अनफिल्ड मिटर रिडिङ गर्दा त्यसमा समायोजन गर्ने प्राधिकरणले बताएको छ।

यसरी एसएमएसबाट पठाएको बिलिङ रकम ग्राहकले मोबाइल वालेटरबैंकिङ वा अनलाइन लगायतका विभिन्न विद्युतीय माध्यममार्फत घर बसेरै भुक्तानी गर्न सक्नेछन् ।

यो सुविधा प्रयोगमा आउनुअघि पनि अहिले खपत गरेको विद्युतको महसुल ग्राहकले अनलाइनबाटै हेरेर भुक्तानी गर्न सक्छन्। तर बिलिङ विवरण हेर्नका लागि इन्टरनेट तथा अनलाइनमा अधिकांश ग्राहकको पहुँच नभएकाले प्राधिकरणले एसएमएस बिलिङको सुविधा प्रयोगमा ल्याउन लागेको बताएको छ।

प्राधिकरणले ग्राहक नम्बर, रिडिङ युनिट र तिर्नुपर्ने रकम एसएमएसमा पठाउनेछ। अहिले प्राधिकरणले त्यसका लागि आफ्नो सफ्टवेयरमा सुधारको काम गरिरहेको जनाएको छ। प्राधिकरणको आइटी शाखाका केही कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएकाले यो काम केही ढिला भएको हो। जेठ महिनाभित्र ग्राहकहरुलाई एसएमएम पठाउने तयारी गरिएको छ।

स्मार्ट मिटर जडान गरेका ग्राहकको भने प्राधिकरणसँग अद्यावधिक सम्पर्क विवरण नै छ। पछिल्लो समय प्राधिकरणले स्मार्ट मिटरसमेत जडान गरिरहेको छ। आउँदो असार मसान्तभित्रमा ९८ हजार स्मार्ट मिटर जडान गरिसक्ने लक्ष्य प्राधिकरणले राखेको छ। त्यसमध्ये जेठ १२ गतेसम्ममा ५० हजार ग्राहकको घरमा स्मार्ट मिटर जडान भइसकेको प्राधिकरणका स्मार्ट मिटरिङ शाखा प्रमुखले जानकारी दिए।

तर स्मार्ट मिटरको बाहेक अन्य ग्राहकको पूर्ण विवरण लगायतका आवश्यक तथ्यांकको लिंक प्राधिकरणसँग छैन। यसकारण ग्राहकको विवरण अद्यावधिक गर्नका लागि पनि एसएमएस बिलिङको यो सेवा प्रारम्भ प्रभावकारी माध्यम हुने विश्वास प्राधिकरणको छ।

एसएमएम बिलिङबाहेक ग्राहकले आफैंले पनि प्राधिकरणको मोबाइल एपमार्फत सेल्फ रिडिङमा गएर समेत खपत गरेको बिजुलीको मिटर रिड गर्न सक्नेछन्। यसो गर्दा ग्राहकले गत वर्षको यहि महिना वा चालु वर्षको अघिल्लो महिनाको विवरण राख्नुपर्छ। त्यसलाई अहिले उठेको युनिटको अंक भिडाएर अहिले कति युनिट तथा बिल रकम उठ्यो भन्ने जानकारी लिन सकिन्छ। सोही आधारमा विभिन्न विद्युतीय भुक्तानी माध्यमबाट बिल तिर्न सकिन्छ। स्मार्ट मिटर जडान गरेका ग्राहकले मिटरमै हेरे बिल तिर्न सक्नेछन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्