Saturday, September 7Nepal News Portal
Shadow

निफ्रालाई विद्युत् व्यापार गर्न अनुमति, सरकारले १० प्रतिशत लगानी गर्ने



काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को पहलमा स्थापना गर्न लागिएको पावर ट्रेडिङ कम्पनी नेपाल लिमिटेडमा ऊर्जा, जलस्रोत तथा सिचाइँ मन्त्रालयले १० प्रतिशत शेयर लगानी गर्ने प्रस्ताव गरेको छ । मन्त्रीस्तरीय निर्णयपछि ऊर्जा मन्त्रालयले अर्थ मन्त्राललाई निफ्राको प्रस्तावित विद्युत् व्यापार कम्पनीमा सो बराबरको शेयर लगानी गर्न प्रस्ताव गरेको हो ।

सरकारको १० प्रतिशत शेयर स्वामित्व रहेको निफ्राले आफ्नै पहलमा विद्युत् व्यापार कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको छ । यो निफ्राको सहायक कम्पनी भने होइन । व्यापार कम्पनीमा ऊर्जा मन्त्रालयले शेयर लगानी गर्नेगरी अर्थ मन्त्रालयलाई आवश्यक बजेटका लागि प्रस्ताव गरेको हो । अर्थ मन्त्रालयले उक्त प्रस्ताव पारित गरेमा सरकारले निफ्राको प्रस्तावित विद्युत् व्यापार कम्पनीमा १० प्रतिशत लगानी गर्नेछ । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले निफ्राको प्रस्तावित कम्पनीमा सरकारले १० प्रतिशत शेयर लगानी गर्नेगरी प्रस्ताव अगाडि बढाइएको बताए । अब अर्थ मन्त्रालयको निर्णयपछि प्रस्तावित कम्पनीमा शेयर लगानी गरिने उनको भनाइ छ । ‘निफ्रामा पनि सरकारको १० प्रतिशत शेयर स्वामित्व छ ।

आफ्नै स्वामित्वको कम्पनीले यसरी विद्युत् व्यापारका लागि छुट्टै कम्पनी स्थापना गर्दै छ,’ उनले भने, ‘त्यसमा सहयोग गर्नु हाम्रो पनि दायित्व हो । त्यसैले यसमा १० प्रतिशत शेयर लगानी गर्ने प्रस्ताव अगाडि बढाएका हौं ।’

निफ्राले कुल रू १ अर्बको शेयर स्वामित्व हुनेगरी कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाएको हो । सरकारले यो कम्पनीमा १० करोड रुपैयाँ लगानी गर्ने देखिन्छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले पनि प्रस्तावित विद्युत् व्यापार कम्पनीमा शेयर लगानीकर्ताको टुंगो लाग्ने चरणमा रहेको बताए । प्रस्तावित लगानीकर्ताबाट लगानीको प्रतिबद्धता आएपछि कम्पनी स्थापना हुने उनको भनाइ छ ।

विद्युत् व्यापार कम्पनीमा सरकार र नेपाल विद्युत् प्राधिकरणको २० प्रतिशत, निफ्राको १५ प्रतिशत, बंगलादेश र भारतको पावर ट्रेडरहरूको ३६ प्रतिशतका साथै बैंक तथा वित्तीय संस्थाहरूको २९ प्रतिशतसम्म शेयर स्वामित्व बनाउने योजना छ । बाँकी १० प्रतिशत शेयर भने सर्वसाधारणबाट उठाइने निफ्राका सीईओ खतिवडाले बताए । आर्थिक अभियान

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्