काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले तोकिएको मापदण्ड पूरा गरी किराना पसल खोल्ने व्यवस्था मिलाउँन सम्वन्धित निकाय समक्ष माग गरेको छ । चेम्बरले भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष अनुरोध गरेको हो ।
किराना पसलहरु बन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरीद गरी उपभोग गर्ने न्यून आय भएका सर्वसाधारण उपभोक्ताहरुलार्इ मर्का परेको छ । किराना पसलहरुमा खाद्यान्न र किराना सामानको अतिरिक्त दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल बन्द गरिँदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्वसाधारणलार्इ सुलभ आपूर्ति हुन नसक्ने बताइएको छ ।
नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट नयाँ भेरियण्टको कोभिड १९ महामारीको संक्रमण तीव्र रुपमा बढि रहेकोले संक्रमणको जालो तोड्न भन्दै जेठ १४ गते शुक्रबारदेखि सम्पूर्ण किराना पसल बन्द गर्ने निर्णय गरेको थियो ।
उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालै जारी भएको विज्ञप्ति सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको जनाउँदै तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागू गर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष नेपाल चेम्वर अफ कमर्सले आग्रह समेत गरेको छ ।
शुक्रबारदेखि तरकारी (साग–सब्जी) फलफूल, दूध, मासु र ग्यासको पसल भने बिहान ९ बजेसम्म मात्र खोल्न पाइनेछ ।