काठमाडौं, १४ कार्तिक (ससं) । दसैंको बेला गुल्मी जिल्लामा सरायँ नाचको बेग्लै रौनक हुन्थ्यो । तर यस वर्ष सरायँ नाच हुने स्थान सुनसान भए । दसैं खल्लो भयो ।
परापूर्वकालदेखि चल्दै आएको सरायँ नाच प्राय दसैंको टीकाको दिनदेखि पूर्णिमासम्म नाच्ने गरिन्छ । गोलो घेरा बनाई पञ्चेबाजाको तालमा खुँडा र तरबार कुशलतापूर्वक नचाउँदै एकअर्कामा ठोक्काएर सरायँ नाच नाचिन्छ । सरायँ नाचलाई असत्यमाथि सत्यको जितको खुसियालीको रुपमा लिइन्छ ।
गुल्मी जिल्लाका अर्जै, अमंरपुर, इस्मामैदान, धुर्कोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा मुख्य गरी सरायँ नाच हुने स्थान हुन् । यस वर्ष भने कोरोना महामारीले गुल्मीका बिभिन्न मन्दिर तथा देवालयमा सरायँ नाच नाचिएन ।
यस वर्ष कोरोना महामारीका कारण प्रशासनले पनि निषेधाज्ञा जारी गरेकाले सरायँ नाच नभएको हो । यस वर्ष कोरोना महामारीका कारण जिल्लाका सबै मन्दिर तथा देवालयहरुमा अत्यावश्यक पूजाबाहेक अन्य कार्यक्रमहरु गर्न प्रशासनले रोक लगाएको थियो ।
सरायँ नाच नाच्दा देवी भगवती प्रशन्न हुने जनविश्वास रहेको बुढापाकाहरु बताउँछन् । सरायँ नाच गुल्मीका साथै अर्घाखाँची, कपिलवस्तु, प्युठान, दाङका विभिन्न कोट र शक्तिपिठहरु तथा खुला चौरमा नाच्ने चलन छ ।