काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/ ७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य शुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु समयमा शुरु गरी छिटो परिणाम ल्याउनका अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको दुईदिनपछि नै बजेट कार्यान्वयनको गृहकार्य शुरु गरेको हो ।
यसै क्रममा सोमवार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिकासहितको कार्ययोजना बनाउन निर्देशन दिएका छन्।
‘बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रमहरु शुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समयतालिका सहित अघि बढ्नुहोस्’, अर्थमन्त्री पौडेलले भने, ‘बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।’
अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरु समयमा सुरु गर्नका लागि कार्यविधि र निर्देशिका तयार पार्न तथा नयाँ आर्थिक वर्षको शुरुवातदेखि नै बजेट कार्यान्वयन प्रकृया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिएका छन् ।
अर्थसचिव शिशिरकुमार ढुङ्गानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै स्रोत सम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताएका छन् ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरु सहभागि थिए ।