काठमाडौं । चौधरी समूहको सीजी कम्युनिकेसन्सले मंगलबार (.आज) बाट काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । उपभोक्ताले बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दा आधा सस्तो मूल्यमा ‘सीजी नेट’ प्राप्त गर्ने ग्रुपले जानकारी दिएको हो ।
उच्च गतिको इन्टरनेट सेवाबाट उपभोक्ताको कार्यक्षमतामा सकारात्मक प्रभाव पर्ने र सार्वजनिक एवं निजी क्षेत्रबाट प्रवाह हुने सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गर्दै सीजी कम्युनिकेशनले १२० एमबीपीएस गतिको ‘सीजी नेट’ ९९९ रुपियाँमा उपलब्ध गराउने जानकारी दिएको छ ।
उपभोक्ताकेन्द्रित सेवा शुरु गरिएको र यसले उपभोक्ताको जीवनमा विल्कुलै नयाँ अनुभव गराउने सीजीले बताएको छ । ‘सीजी नेट’ देशव्यापी इन्टरनेट सेवाप्रदायक (आईएसपी) हो, जसले व्यवसायिक र व्यक्तिगत दुवैका लागि इन्टरनेट सेवा उपलब्ध गराउँछ । निकट भविष्यमै आईपीटीभी र अन्य लोकप्रिय सेवा पनि बजारमा ल्याउने कम्पनीले जानकारी दिएको छ ।
भिडियो, ओटीटी प्लेटफर्म, ‘वर्क फ्रम होम’, अनलाइन कक्षाको बढ्दो प्रयोग र माग सम्बोधन गर्न आफूहरूले विश्व बजारमा उपलब्ध पछिल्लो पुस्ताको प्रविधि प्रयोग गरेको भन्दै ‘सीजी नेट’ले सुरुवातमा सेवा काठमाडौं उपत्यकाका तीन वटै जिल्लामा उपलब्ध हुने जानकारी दिएको छ ।
यो सेवा जावलाखेल, झम्सिखेल, भनिमण्डल र एकान्तकुनाका बासिन्दाले लिन सक्नेछन् । १२ महिनाभित्र उपत्यकाका सबै क्षेत्रमा ‘सीजी नेट’ विस्तार हुनेछ । उल्लेखित क्षेत्रका उपभोक्ताका घरमा हाम्रो सेवा जडान गर्न सेवा माग गरिएको ६ देखि २४ घण्टाभित्र उपलब्ध हुनेछ ।