Saturday, September 7Nepal News Portal
Shadow

खानेतेलको मूल्य हालसम्मकै बढि, उद्योगमा क्षमता उपयोग ४० प्रतिशत मात्र


काठमाडौं । बजारमा खानेतेलको मूल्य हालसम्मकै बढी रहेको छ । तेल प्रशोधनका लागि आयात गर्ने कच्चापदार्थको मूल्यवृद्धिसँगै महशूल दर समेत बढेकाले प्रशोधित खानेतेलको मूल्य उच्च भएको नेपाल वनस्पति घ्यू/तेल उत्पादक संघले बताएको छ । कोरोना भाइरस र निषेधाज्ञाका कारण उद्योगहरूले करीब ४० प्रतिशत क्षमतामा मात्र उत्पादन गरिरहेको संघले जानकारी दिएको छ ।

बजारमा प्रशोधित खानेतेलको मूल्यवृद्धिबारे सरोकारवालाबाट धेरै टीकाटिप्पणी आउन थालेपछि संघले सोमवार (हिजो) प्रेस विज्ञप्ति जारी गर्दै महँगी बढ्नुको कारण बताएको हो । यसअघि प्रशोधित खानेतेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक सोधिएको थियो । संघले उद्योगहरूबाट कुनै प्रकारको कृत्रिम अभाव सृजना गरी मूल्यवृद्धि नभएको प्रस्ट्याउँदै हाल मूल्यवृद्धि हुनुमा अन्तरराष्ट्रिय बजारको मूल्यवृद्धिको समेत कारण रहेको बताएको छ ।

उद्योगहरूलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरी ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायत देशबाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चापदार्थका लागि आयातमै निर्भर हुनुपर्दा अन्तरराष्ट्रिय बजारको व्यापार अनुरूप नै नेपाली बजारको मूल्य निर्धारण हुने गर्दछ,’ संघद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । साथै, नेपालका लागि जहाज आउने हल्दिया बन्दरगाह रहेको भारतको पश्चिम बंगाल राज्यमा भएको २ महीना लामो निर्वाचन, निषेधाज्ञा, पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगायत कारण नेपाल भन्सारसम्मको ढुवानी असहज र महँगो भएको संघले बताएको छ । यससँगै सहायक कच्चापदार्थ र प्याकेजिङ सामग्रीमा प्रयोग हुने सामानको मूल्य समेत अन्तरराष्ट्रिय बजारमै बढेकाले त्यसको असर खानेतेलको मूल्यमा परेको संघको भनाइ छ ।

संघका अनुसार गतवर्ष खानेतेलको कच्चापदार्थको महशुल दर प्रतिलिटर २० रुपैयाँ रहेकोमा हाल ४० भन्दा बढी पुगिसकेको छ । हालसम्म पनि चलनचल्तीको अन्तरराष्ट्रिय मूल्य अनुसार नेपालको मूल्य परिमार्जन हुन नसकेको संघको भनाइ छ । संघमा आबद्ध २० ओटा उद्योगले नियमित रूपमा उत्पादन गरी स्थानीय बजारमा आपूति गर्दै आएको बताइएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्