काठमाडौं । सरकारले ५ वटा पाँचतारे होटलसहित ७८ वटा होटललाई क्वारेन्टिनका रुपमा सूचीकृत गरेको छ । पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार कम्तीमा २० वटा कोठा भएको होटललाई क्वारेन्टिनका रुपमा तोकिएको हो । सरकारले खाडीमा वैदेशिक रोजगारीमा गएर नेपाल फर्कनेलाई ५ दिन र अन्य अवस्थामा फर्कने नेपाली र विदेशी नागरिकलाई १० दिन होटल बुकिङको प्रमाण देखाएपछि मात्र नेपाल आउन अनुमति दिने नियम बनाएको छ ।
विभागले सार्वजनिक गरेको सूचीमा रहेका होटललाई यात्रुले क्वारेन्टिनका लागि बुक गर्न सक्नेछन् । विभागले यसअघि भारतबाट आउने यात्रुलाई राख्न तोकेका १० होटलमा अन्य ६८ वटा थप गर्दै ७८ वटाको नाम क्वारेन्टिन होटलको रुपमा सार्वजनिक गरेको छ ।
सरकारले ठमेल, सुन्धारा, कलंकी क्षेत्रका होटललाई भने क्वारेन्टिन नबनाउने निर्णय गरेको छ । हाल नेपालले पहिलो चरणमा टर्की, कतार, चीन र भारतमा नियमित हवाई उडान सञ्चालनमा ल्याएको छ ।
होटलको नाम र सम्पर्क नम्बर हेर्नका लागि यहाँ क्लिक गर्नुहोला