काठमाडौं । धुलिखेल नगरपालिकाले कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु भएकाको परिवारलाई किरिया खर्च १५ हजार दिने भएको छ । कोरोना महामारीको यस अवस्थामा मृतक परिवारलाई सहज होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको नगरले जनाएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता धुलिखेल नगरमा हाल १८८ पुरुषसहित ३११ सक्रिय सङ्क्रमित रहेका छन् । धुलिखेलमा हालसम्म कोरोना भाइरस् सङ्क्रमणबाट २८ को मृत्यु भइसकेको छ । यसैबीच पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकमा ३२५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता जिल्लामा हाल दुई हजार २१५ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये बनेपा नगरमा ३०३, पनौतीमा २०६, पाँचखालमा ३३२, नमोबुद्धमा ११०, मण्डनदेउपुरमा १९० तथा रोशी गाउँपालिकामा १५४, चौँरीदेउरालीमा ५७, तेमालमा १०३, भुम्लुमा २१०, खानीखोलामा ३८, बेथानचोकमा १२० र महाभारत गाउँपालिकामा ८१ सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । कुल सङ्क्रमितमध्ये ९४ दशमलव ५९ प्रतिशत अर्थात् दुई हजार ९५ सङ्क्रमित होम आइसोलेशनमा उपचाररत छन् । हालसम्म जिल्लाका १३६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।