काठमाडौं । नेपाल हस्तकला महासंघले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ। महासंघले आर्थिक वर्ष २०७८/७९ को बजेटको समीक्षा गर्दै कोभिड–१९ का कारण थलिएको नेपाली हस्तकला उद्योगको विकास र विस्तारमा सरकारले खेलेको भूमिका सकारात्मक रहेको बताएको हो।
कोभिड–१९ बाट थलिएको हस्तकला उद्योग व्यवसायको पुनरुत्थानको निमित्त निकासी अभिवृद्धिको पञ्चवर्षीय लक्ष्यसहित महासंघले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको अवस्थामा सोहीअनुसार बजेट विनियोजन हुनु सराहनीय र स्वागतयोग्य भएको महासंघले जनाएको छ । हस्तकला उद्योग व्यवसाय प्रवर्द्धनका निमित्त सिपमूलक तालिमको व्यवस्था, उद्योग व्यवसाय सञ्चालनका लागि स्टार्टअप ऋणको व्यवस्था, कर सहुलियत व्यवस्था, पुनर्कर्जा कोषको निरन्तरता, महिला तथा युवालाई उद्यमशीलताका लागि बजेटलगायतका व्यवस्था सकारात्मक रहेको महासंघको निष्कर्ष छ ।
सार्वजनिक निजी साझेदारी अवधारणाअनुसार स्थापना गरिने सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणलाई पूर्णता प्रदान गर्ने नेपाल सरकारको प्रतिबद्धता राम्रो भएको महासंघको भनाइ छ।