काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारीमा विभिन्न स्वास्थ्य पूर्वाधारको अभाव झेलिरहेका नेपालका विभिन्न अस्पतालहरूलाई बतास अर्गनाइजेसन अन्तर्गतको सामाजिक संस्था बतास फाउण्डेसनले अक्सिजन कन्सन्ट्रेटरका साथै विभिन्न राहत सामग्रीहरू उपलब्ध गराएको छ ।
यस अन्तरगत बतासका सदस्य मोहन बतासले दमौली जिल्ला सरकारी अस्पतालका लागि करिब १९ लाख रकम पर्ने १० थान अक्सिजन कन्सन्ट्रेटर अस्पतालका कार्यकारी निर्देशक डा. सुनिल पौडेललाई हस्तान्तरण गरेका हुन्।
यसका साथै बतासको भगिनी संस्था बिपिएस पेट्रोलियमका प्रबन्ध सञ्चालक शिव अर्यालले देव चुली नगरपालिका वडा नं. ५ मा रहेको दुम्कौली कोभिड अस्पताललाई ३ लाख रुपैयाँ बराबरको अक्सिजन कन्सन्ट्रेटर र बन्दिपुर आधारभूत स्वास्थ्य चौकीलाई १ थान अक्सिजन कन्सन्ट्रेटर देवचुली नगरपालिका वडा नं ५ का वडा अध्यक्ष शिवलाल सापकोटा मार्फत सहयोग हस्तान्तरण गरेका छन् ।
संस्थाले अतिरिक्त आइआरडब्लु नेपालको साझेदारीमा नौकुण्ड गाउँपालिकाका कोभिड प्रभावित ४ सय घरपरिवारलाई अनुमानित लागत १३ लाख बराबरको खाद्यान्न प्याकेट उपलब्ध गराउने प्रकृयामा रहेको छ । यसबाट उक्त पालिकाको प्रत्येक घर २५ केजी चामल, ३ केजी मुसुरोको दाल, नुन २ केजी, चिनी २ केजी, तेल तथा साबुन वितरण गरिने भएको छ ।
यति मात्र नभएर बतास फाउण्डेसनले आउँदो महिनामा रसुवा जिल्लाको नौकुण्ड अस्पतालका लागि अनुमानित १२ लाख बराबरको ५० थान अक्सिजन सिलिन्डर ९१० लिटर क्षमताका ३५ वटा तथा ४० लिटर क्षमताका १५ वटा स्वास्थ्य सामग्री उपलब्ध गराउने योजना रहेको पनि स्रोतले जनाएको छ ।