काठमाडौं । डेढ महिना भन्दा लामो निषेधाज्ञाका कारण आम्दानीको बाटो सुकेर दैनिक छाक टार्न मुस्किल परेका उपभोक्ताको ढाड सेकिने गरी सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २/२ रूपैयाँले बढाएको हो ।
जारी निषेधाज्ञाबीच यसअघि निगमले जेठ २ गते मात्रै पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २/२ रूपैयाँले मूल्य बढाएको थियो । जारी निषेधाज्ञाबीच १६ दिनमा नै मूल्य बढाइएको हो ।
नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२५ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ तोकिएको छ ।