काठमाडौं । हुम्लाको सदरमुकाम सिमकोटमा जिल्लाबाहिर नेपालगञ्ज र सुर्खेतबाट कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको छ। आएकै दिन बिक्री गर्न नपाइने र तीन दिनसम्म सिमकोट विमानस्थलमा मासु राख्नुपर्ने भएपछि हवाई मार्गबाट मासु आयातमा प्रतिबन्ध लगाइएको हो।
कोरोना सङ्क्रमणका कारण हुम्ला जिल्लामा हवाई मार्गबाट आउने मासुलाई प्रतिबन्ध लगाइएको हो । जिल्ला कोभिड(१९ सङ्कट व्यवस्थापन तथा डिसीसिएमसीको निर्णयअनुसार हवाई मार्गबाट आएकै दिन मासु बजारमा बिक्री गर्न नपाइने र तीन दिनसम्म आएको मासु राख्नुपर्ने हुँदा मासु बिग्रिने भएकाले कोरोना सङ्क्रमणको अवधिभर कुखुराको मासु आयातमा प्रतिबन्ध लगाइएको बताइएको छ ।
हुम्लामा हवाई मार्गबाट ढुवानी भएको खाद्य तथा तरकारीलगायत सामग्रीलाई ७२ घन्टासम्म सिमकोट विमानस्थलबाटै उठाउन नपाइने नियम जिल्ला डिसीसिएमसीले बनाएको छ। अन्य सबै सामान सो अवधिपछि मात्र उठाउने गरिँदै आएको छ। लामो समयसम्म मासु राख्दा बिग्रिने भएको कारण मासु आयातमै प्रतिबन्ध लगाइएको हो।