काठमाडौं, १८ कात्तिक (ससं) । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । पोखरा महानगरपालिका–७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
कांग्रेसले १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।
त्यस्तै केसीको निधन प्रति कांग्रेस संसदीय दलका प्रमुख सचेतक वालकृष्ण खाँणले समेत सोक व्यक्त गरेका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह स्व. के.सी.ले गरेको उल्लेख गरेका छन् ।
औद्योगिक विकासका साथै राजनीतिक, सामाजिक क्षेत्रमा सदैव सक्रिय रहेका के.सी.को निधनले नेपाली कांग्रेस पार्टी र नेपालको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको उनको बुझाइ छ ।