काठमाडौं । दुई वाणिज्य बैंकलाई कर्मचारीको मृत्युसँगै करिब २ करोड रूपैयाँ क्षतिपूर्ति तिर्न पत्राचार गरेको २ हप्ता ननिबत्दै सामाजिक सुरक्षा कोषले गोर्खा ब्रुअरीलाई पनि पत्र काटेको छ । गोर्खा ब्रुअरीमा काम गर्ने राम बहादुर सार्की नेपालीको मृत्यु भएको ९ महिनापछि सार्कीको परिवारको उजुरिका आधारमा कोषले ३३ लाख रूपैयाँ क्षतिपूर्ति तिर्न पत्राचार गरेको हो ।
सामाजिक सुरक्षा कोषमा दर्ता भएर पनि कर्मचारीको योगदान नपठाएको कारण देशकै ठूलो मध्येको एक ब्रुअरीले ३३ लाख रुपैयाँ भन्दा बढीको दायित्व बेहोर्ने भएको छ ।
सामाजिक सुरक्षा ऐनअनुसार कोषमा आवद्ध नहुने तथा आवद्ध भएर पनि योगदान रकमनबुझाएको कम्पनीले नै कोषले बेहोर्ने दायित्व बेहोर्नुपर्ने व्यवस्था रहेको छ । कम्पनी र कर्मचारीको सम्बन्ध समाप्त भएपछि ऐनबमोजिम कोषबाट पाउनुपर्ने रकम कम्पनीले तिर्नुपर्ने व्यवस्था ऐनमा रहेको छ ।
यसो नगरे सामाजिक सुरक्षा कोषले सो कम्पनीलाई दायित्व रकम तिर्ने आदेश दिन सक्छ । गोर्खा ब्रुअरीले उनको मृत्युसम्म सामाजिक सुरक्षा कोषमा दर्ता भएर पनि योगदान रकम जम्मा गर्ने सुरु गरेको थिएन ।
कम्पनीका मृतक कर्मचारीका परिवारले कोषले बेहोर्ने दायित्व बराबर दायित्व नबेहोरेको भन्दै उजुरी दिएपछि कोषले कम्पनीलाई यस्तो निर्देशन दिएको हो ।
कोषका अनुसार नेपालीको २०७७ भदौ २९ गते मृत्यु भएको हो ।