Tuesday, December 5Nepal News Portal
Shadow

वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठद्वारा सिभिल अस्पताललाई एक करोड १८ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा मीनभवनस्थित सिभिल अस्पताललाई एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

च्वाइस ह्युमानिटेरियन सामाजिक संस्थाको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पिपीइ, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत एक करोड १८ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।

अक्सिजन प्लान्ट स्थापना गर्न मद्दत मिल्ने गरी वाग्मती सरकारले दिएको रु दुई करोडमा रु एक करोड अपुग भएकाले एक करोड १८ लाख बराबरको सामग्री सहयोग जुटाएर हस्तान्तरण गरिएको वाग्मती प्रदेशसभा सदस्य श्रेष्ठले राससलाई जानकारी दिए ।

अस्पतालका कार्यकारी निर्देशक विधाननिधि पौडेलले प्रदेशसभा सदस्य श्रेष्ठले यसअघि अस्पतालमै आएर आवश्यक सामग्रीको सूची लिएर उपलब्ध गराएको बताए । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना फैलिएपछि खरिद प्रक्रिया पनि पूरा गर्न नपाएकाले स्वास्थ्य सामग्रीको अभाव भएका बेला सामग्री पाउँदा स्वास्थ्य सेवा दिन सहज भएको उनको भनाइ थियो । कोरोनाको तेस्रो चरणको लहर पनि आउने अनुमान भइरहेकाले अहिलेदेखि तयारी सुरु गरिएको अस्पतालले जनाएको छ ।

सहयोगी संस्थाका कार्यकारी निर्देशक प्रतीक शर्माले बानेश्वर क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराएको सिभिल अस्पताललाई आवश्यकताका आधारमा सामग्री उपलब्ध गराइएको बताए ।

दाताबाट बुधबार नै संस्थाको कोषमा सहयोग आएकै दिन अस्पतालमा स्वास्थ्य सामग्री उपलब्ध गराउन सफल भएको उनले जानकारी दिए । निषेधाज्ञाका बीच १५ दिन विभिन्न स्थानमा गई खोजेर स्वास्थ्य सामग्री खरिद गरी उपलब्ध गराइएको हो । रासस

Total Page Visits: 1319 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्