काठमाडौं । पर्सा जिल्लामा गत वर्षको तुलनामा चालु वर्ष खाद्यान्न उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख स्रोतका अनुसार खाद्यान्न उत्पादन गत वर्षको तुलनामा २ हजार ७२० मेट्रिक टन बढी भएको हो।
चालु आ. व. ३ हजार ५ सय हेक्टरमा लगाइएको चैते धान १७ हजार ८५० मेट्रिक टन फलेको छ। ८ हजार ५ सय ५० हेक्टरमा लगाइएको भदैया धान ४४ हजार ७ सय मेट्रिक टन भएको छ भने ३५ हजार हेक्टरमा लगाइएको अगहनी धान १ लाख ६६ हजार २५० मेट्रिक टन उत्पादन भएको केन्द्रले जनाएको छ।
गत वर्ष चैते धान १७ हजार ५३५ मेट्रिक टन, भदैया ४२ हजार ७५० र अगहनी १ लाख ६५ हजार ५५० मेट्रिक टन उत्पादन भएको थियो।
यस्तै २६ हजार ५० हेक्टरमा लगाइएको गहुँ ८५ हजार ९६५ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष गहुँ ८० हजार ६०० मेट्रिक टन भएको थियो। जिल्लामा ५६० हेक्टरमा हिउँदे मकै र ४ हजार ५० हेक्टरमा वर्षे मकै लगाइएको थियो। मकैको उत्पादन १४ हजार ५८० मेट्रिक टन भएको केन्द्रको तथ्यांकमा छ। दलहनमा मसुरो, खेसारी, मास, मुङ, राजमा, रहर, चना र तेलहनमा आलस, तोरी, सूर्यमुखी, सरस्युँ, बदामलगायत उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।