काठमाडौं, २२ कार्तिक (ससं) । कोरोना भाइरस फैलन नदिन गरिएको बन्दाबन्दीले प्रभावित सवारी अनुमति पत्र आवेदन (लाइसेन्स परिक्षा, ट्रायल) तिहार लगत्तै खुलाउँन गृहकार्य थालिएको छ । यातायात व्यवस्था विभाग तथा बागमती प्रदेश यातायात कार्यालयले कारोना महामारीका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै लाइसेन्स आवेदनलाई पनि निरन्तरता दिने गृहकार्य थालेको हो ।
कोरोना महामारीका कारण बन्द रहेका यातायातका सेवा गत असोज महिनादेखि सवारी कर, नवीकरण लगायत अन्य सरकारी सेवा सुरू भएपनि नयाँ लाइसेन्सका लागि आवेदन, लिखित परीक्षा र ट्रायल कहिले खुल्ने भन्ने बिषयमा अन्योलता कायम थियो । तर, यातायात व्यवस्था विभागले लाइसेन्स आवेदन रोकिएको लामो समय भएको भन्दै कारोना महामारीकै बीच वैकल्पिक उपाय अपनाउँदै ट्रायल परीक्षाको प्रक्रियालाई अगाडि बढाएको छ ।
सेवा बन्द भएको लामो समय भएको अवस्थामा कसरी व्यवस्थापन गरेर अगाडि बढ्ने भन्ने बिषयमा सम्बन्धीत निकायसँग विभागले छलफल गर्न थालेको छ ।