Tuesday, December 3Nepal News Portal
Shadow

अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका वर्गलाई खोपमा प्राथमिकता दिन महासंघको आग्रह


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्रीसमक्ष अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी, श्रमिक, कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका छन् । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल सहितको प्रतिनिधिमण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङ्ग समक्ष मंगलबार (आज) मन्त्रालयमा भेटगरी अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएहरुलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनीहरुले उद्यमी व्यवसायी, श्रमिक, कामदार, कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेका हुन् ।

सो अवसरमा महासंघका तर्फबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको जनाइएको छ ।

जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र सरकारका आर्थिक लक्ष्यलाई पुरागर्न समेत यो वर्गलाई खोपमा पहिलो प्राथमिकतामा राख्नुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिएका थिए । महासंघका सदस्य जिल्ला÷नगर उद्योग वाणिज्य संघहरू, वस्तुगत र द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरू र एसोसिएट अन्तरगतका सबैलाई अवको प्राथमिकतामा खोप दिने व्यवस्था मिलाइयोस, अध्यक्ष गोल्छाले स्वास्थ्यमन्त्रीसंगको भेटमा भनेका थिए ।

कोभिड १९ को महामारी र त्यसको नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा र वन्दावन्दीका समयमा पनि उद्यमी व्यवसायीले निर्वाध रुपमा उत्पादन र आपूर्ति व्यवस्थापनमा काम गरेका छन् र संकटको घडिमा निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था महासंघ र यसको सिंगो सञ्जालनै आपूर्ति व्यवस्थापन, महामारी नियन्त्रण, स्वास्थ्य पूर्वाधार निर्माण सहित राहत सेवा प्रदान गर्न अहोरात्र खटिरहेको र आगामी दिनमा पनि क्रियाशील रहने प्रतिवद्धता महासंघका तर्फबाट सो अवसरमा व्यक्त गरेका थिए ।

महासंघसंगको भेटवार्तामा मन्त्री तामाङ्गले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी र यस क्षेत्रमा कार्यरत सम्पूर्ण कामदार कर्मचारीहरूलाई पहिलो प्राथमिकतामा राखेर कोभिड विरुद्धको खोप उपलव्ध गराउने प्रतिवद्धता जनाएका थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्