काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि लिइने लिखित परीक्षाको नयाँ पाठ्यक्रम सार्वजनिक गरेको छ । विभागले बुधबार (हिजो) एक विज्ञप्ति जरी गरी उक्त पाठ्यक्रम सार्वजनिक गरेको हो ।
लाइसेन्स परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ ( वर्ग ‘क’, ‘ट’ (ए÷के) मोटरसाइकल÷स्कुटर, मोपेड र वर्ग ‘ख’ (बी) कार÷जीप÷डेलिभरी भ्यानका लागि २०७७ चैत १९ गते स्वीकृत भएको थियो ।
यो कार्यविधि निर्देशिका २०७८ जेष्ठ १ गतेदेखि लागूमा आएको जनाइएको छ ।
उक्त निर्देशिकाको दफा ५(२) बमोजिम वर्ग ‘क’÷‘ट’ (ए÷के) र वर्ग ‘ख’ (बी) को लागि लिइने लिखित परीक्षा प्रयोजनका लागि तयार गरिएको ५००÷५०० वटा प्रश्नहरुको २ वटा प्रश्न संग्रह विभागले आफ्नो वेवसाइटमा प्रकाशित गरेको छ ।
अगामी दिनमा वर्ग ‘क’÷‘ट’ (ए÷के) र वर्ग ‘ख’(बी) का लागि लिखित परीक्षा सञ्चालन गर्दा यिनै प्रश्न संग्रहबाट तोकिए बमोजिमका सबै विषय क्षेत्रबाट तोकिए बमोजिमको संख्यामा प्रश्नहरु रहने गरी प्रत्येक प्रश्नको ५ अंकका दरले २० वटा वस्तुगत प्रश्नहरु चयन गरी प्रश्नपत्र तयार गर्नुपर्ने विभागले जनाएको छ ।
उल्लेखित प्रश्न पत्रमा संग्राहित प्रश्नहरु समय सन्दर्भ अनुसार संशोधन हुने सवारी ऐन तथा नियमावली, ट्राफिक नियम, विभागबाट जारी हुने नीति निर्देशन र सवारी साधनमा प्रयोग गरिने नयाँ नयाँ प्रविधिका आधारमा प्रश्नहरुलाई वार्षिकरुपमा अध्यावधिक गरिँदै जाने विभागले जानकारी दिएको छ । प्रश्नपत्र संग्रहको सार्वजनिक प्रकाशनले परीक्षार्थीलाई लिखित परीक्षाको तयारी गर्न सहज हुने विश्वास विभागले लिएको छ ।
विभागका अनुसार यसअघि शतप्रतिशत १०० अंक पास गर्नुपर्ने प्रयोगात्मक ट्रायल परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य मानिने छ । तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षा भने अब पास हुन ८० अंक ल्याउनुपर्नेछ । अहिले प्रयोगात्मक परीक्षामा पास हुन सय अंकमा सय नै ल्याउनुपर्ने व्यवस्था छ ।
लिखित परीक्षा ३० मिनेटको हुनेछ भने विद्युतीय माध्यमबाटसमेत परीक्षा सञ्चालन गर्न सकिनेछ । १ सय पूर्णांक र २० वटा प्रश्न हुनेछन् । सबै प्रश्नको अंकभार ५ हुनेछ । अहिले पनि ३० मिनेटमा लिखित परीक्षाको समयावधि थियो भने २० वटा प्रश्न सोधिएका हुन्छन् । त्यसमध्ये १० वटाको सही उत्तर दिनुपर्ने व्यवस्था रहेको छ । लिखित परीक्षामा पास भएको व्यक्तिले मात्रै प्रयोगात्मक परीक्षामा सहभागी हुन पाउनेछ ।