काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समय थप भएको हो । ऋणपत्रको लागि साउन ३ गतेसम्म आवेदन दिने समय थप भएको हो ।
बैंकले असार २० गतेदेखि ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको थियो । उक्त ऋणपत्रमा आवेदन दिने समय छिटोमा असार २३ गते आजसम्म थियो भने ऋणपत्रमा पूर्ण आवेदन नपरेकाले ढिलो अवधिसम्म नै विक्री गर्न लागेको जनाएको छ ।
बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘ज्योति विकास बैंक बण्ड २०८७’ नामको यस ऋणपत्रमा निष्काशन गरेको हो ।
बैंकले १ अर्ब ५० करोड बराबारको १५ लाख कित्ता विक्री खुला गरेको हो । प्रतिऋणपत्र १ हजार अंकित दरको कुल कित्ता ऋणपत्रमध्य ९ लाख कित्ता ऋणपत्र बैंकले व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी ६ लाख कित्तामा ५ प्रतिशत सामुहिक लगानीकोषको लागि सुरक्षित गरी ५ लाख ७० हजार कित्ता सार्वजनिक निष्कासनमार्फत विक्री गर्नेछ ।
ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यो ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था रहेको जनाएको छ ।