काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई अन्याय भएको बताएका छन् । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा स्थायी कमिटी बैठक सुरू गर्दै ओलीले आफूहरूमाथि न्याय पाउने ठाउँबाटै अन्याय भएको बताएका हुन्।
तर आवेश र उत्तेजनामा नआई जनतामा जानुपर्ने बताए । जनादेशले बनेको सरकार नभएकाले यो सरकार परमादेशले बनेको ओलीले बताए । बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धारणाबारे आजको बैठकमा छलफल हुने बताइएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जेठ ८ गते दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेका थिए। सर्वोच्चले उक्त विघटनलाई बदर गरिदिएको छ। पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते दिउँसो ४ बजे बस्दैछ।
एमालेमा ओली समूहले सर्वोच्चको फैसलाको आलोचना गरेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले स्वागत गरेको छ।