काठमाडौं, २५ कार्तिक (ससं) । टानका अध्यक्षले संस्था नवीकरणको रकम हिनामिना गरेको’ भन्ने आशयले सामाजिक सञ्जालमा फैलिएको हल्लाप्रति टानले आपत्ति जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै टानका अध्यक्ष खुम बहादुर सुवेदीले पूर्वाग्रहले प्रेरित भई आफूमाथि लगाइएका ‘कपोकल्पीत आरोप’ प्रति गम्भीर आपत्ति जनाएका हुन् ।
सोमबार सामाजिक सञ्जालमा टान अध्यक्ष सुवेदीले संस्था नवीकरणको ५ लाख रुपैयाँ हिनामिना गरेको आरोप सहित हल्ला फैलिएको थियो । आफूलाई बदनाम गर्ने हेतुले फैलाइएको सुनियोजित हल्ला पूर्ण रूपमा निराधार रहेको अध्यक्ष सुवेदीले स्पष्ट पारेका छन् ।
‘यस संघमा मेरो यात्रा लामो रहदै आएको छ र भविश्यमा पनि संघको सदस्यको हैसियतले सङ्घको भलो चिताएर निष्ठापूर्वक कार्य गर्ने नै छु,’ विज्ञप्तिमा अध्यक्ष सुवेदीले भनेका छन्, ‘बिगतमा कार्यसमितिको सदस्य, कोषाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पदिय जिम्बेवारी पुरा गर्दै वर्तमान अवस्थामा अध्यक्ष पदसम्म आईपुदा मैले सधै संस्थाको हित, पर्यटन व्यवसायीहरुको मर्म र भावना अनुरुप सत्य र निष्ठापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्दै आइरहेको छु ।’ हल्ला फैलिएकै दिन सङ्घको बिधानले अध्यक्षलाई दिएको अधिकार प्रयोग गरेर आफूले बिधिसम्मत तरिका बाट केहि सदस्यहरुको मनोनयन गरेको उनले स्पष्ट पारेका छन् ।
‘अध्यक्षको अधिकार क्षेत्रलाई आफैले प्रयोग गर्न नपाएको रिसले मैले मनोनयन गरेका सदस्यहरु प्रति असहमती जनाउदै केही असन्तुस्ट पक्षले मेरो चरीत्र हत्या गर्ने गरी म माथि लगाईएको त्यस्ता आरोप कपोकल्पीत र भ्रामक भएको र कुनै सत्यता नभएको तर्फ सम्बन्धित सन्चार माध्यमहरु समेतको ध्यानाकर्षण गर्न चाहान्छु,’ विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष सुवेदीको विज्ञप्तिमा अगाडि लेखिएको छ( ‘संघलाई मैले भुक्तान गर्न बाँकी कुनै बक्यौता नभएको र यस विषयमा जान्न र बुझ चहानेहरुकालागि टानको ढोका सधै खुल्ला रहेको बारे पनि स्पष्ट पार्न चाहन्छु । अतः यस भ्रमक समाचारको पछि नलागीदिन पनि म सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।’