Thursday, September 12Nepal News Portal
Shadow

एक हजार व्यापारिक फर्म विभागको कारबाहीमा


काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ । विभागले गत आर्थिक वर्ष २०७७/७८ मा गरेको बजार अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलापमा संग्लन एक हजार ३५ व्यापारिक फर्म÷कम्पनी तथा उद्योगलाई कारवाही गरेको हो ।

एक वर्षको अवधिमा विभागले दुई हजार ९४७ फर्मको अनुगमन गरेको विभागले जनाएको छ । तीमध्ये ६६ फर्म सामान्य अवस्थामा रहेका, एक हजार ५९७ फर्मलाई सामान्य सुधार, ३९७ फर्मलाई आवश्यक कागजात तथा स्पष्टीकरण सोधिएको थियो । विभागको तथ्याङ्कअनुुसार ३७ फर्मबाट परीक्षणका लागि वस्तुको नमूना सङ्कलन, ३८ फर्मको कारोवार रोक्का, १९ जनालाई अभियोग लगाइएको र तीनवटा साधन नियन्त्रणमा लिइएको थियो ।

कारवाहीमा परेका उद्योगलाई लगाइएको जरिवानावापत रु दुई करोड ३९ लाख ८२ हजार बराबर राजश्व सङ्कलन भएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार एक वर्षको अवधिमा रु तीन करोड ७३ लाख ८४ हजार ४०१ बराबरको अखाद्य वस्तु नष्ट गरिएको छ ।

विभागअन्तर्गत रहेका पाँच कार्यालयहरु विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीले गत आवमा एक हजार ३४७ व्यापारिक फर्मलाई कारवाही गरेका छन् । ती फर्मलाई कारवाही स्वरुप जरिवाना गर्दा एक वर्षको अवधिमा रु तीन करोड ३३ लाख ७० हजार राजश्व सङ्कलन भएको छ । चार हजार ७७९ व्यापारिक फर्मको अनुगमन गरिएकामा ५१ फर्मको कारोवार रोक्का गरिएको थियो । साथै रु तीन करोड ९८ लाख ५३ हजार २५९ बराबरको म्याद सकिएको वस्तु नष्ट गरिएको बताइएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्