Saturday, September 7Nepal News Portal
Shadow

उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन



काठमाडौं । नेपाल उद्योग परिसंघको विधान अनुसार ७ जना उपाध्यक्ष चयन भएका छन् । परिसंघको गभर्निङ काउन्सिलले उनीहरूलाई उपाध्यक्षमा चयन गरेको हो।
यसअनुसार निर्वाण चौधरी, कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल र रोहित गुप्ता परिसंघको उपाध्यक्ष चयन भएका हुन् ।
मंगलबार परिसंघका अध्यक्ष एमिरेट्स विनोद चौधरीले उपाध्यक्षहरूको घोषणा गरेका हुन् । परिसंघको विधान अनुसार संस्थापक समूह, प्रतिष्ठानगत समूह र संस्थागत सूमहबाट उनीहरू उपाध्यक्ष चयन भएका हुन् । उनीहरूको सपथ ग्रहण मंगलबार नै सम्पन्न भएको छ।
कार्यक्रममा चौधरीले परिसंघलाई निजी क्षेत्रको अग्रणि संस्थाको रूपमा उभ्याउने गरी काम गर्न नवनिर्विचत पदाधिकारीहरूलाई शुभकामना दिए । उनले हरेक विषयमा गृहकार्य गरेर अघि बढ्नुपर्ने भन्दै नीति निर्माणमा परिसंघले सकारात्मक हस्तक्षेप अघि बढाउनुपर्ने उल्लेख गरे ।
परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघका गतिविधि मुलुकमा औद्योगिकरणका निम्ति केन्द्रित हुने बताउनुभयो। औद्योगिकरण विना मुलुकको दीगो विकास असंभव रहेको भन्दै उहाँले त्यसमा परिसंघले अब्बल भूमिका निर्वाह गर्ने उल्लेख गरे ।
यसैगरी परिसंघका निवर्तमान् अध्यक्ष सतिशकुमार मोरले परिसंघका सुझावहरू नीति निर्माणका क्रममा गम्भीरताका साथ लिन थालिएको भन्दै चालु आर्थिक वर्षको बजेटमा समेत महत्त्वपूर्ण सुझाव समावेश भएको उल्लेख गगरे । उनले ह्विलिङ चार्ज तिरेर विद्युत उत्पादकबाट उद्योगले विद्युत खरिद गर्न सक्ने तथा ‘मेक इन नेपाल स्वदेशी – अभियान’ बजेटमा समावेश हुनु उल्लेखनीय उपलब्धि भएको बताए ।
परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले परिसंघले जहिले पनि उद्योगीको सामूहिक हितलाई केन्द्रमा राखेर काम गरेको उल्लेख गर्नुभयो। उहाँले नयाँ नेतृत्वले पनि त्यसैलाई आत्मसात गरी राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान दिनुपर्ने बताए ।
कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिलका सदस्य विजयबहादुर शाह एवं राष्ट्रिय परिषद सदस्यहरू अनुज अग्रवाल, भीम घिमिरे, राजु पौडेल र पम्फा धमलाले नयाँ नेतृत्वलाई शुभकामना दिएका थिए । कार्यक्रममा परिसंघका गभर्निङ काउन्सिल र राष्ट्रिय परिषदका सदस्यहरूको उपस्थिति रहेको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्